देन्दाङ र किमाथांकाबीच आकाश पातालको फरक

|

संखुवासभा : भोटखोलाका नागरिकहरू तिब्बत सरकारले उपलब्ध गराएको सेवा सुविधा, सडक, विद्युत्, संचार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथांकावासी नागरिकहरू आफूहरूलाई राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेका छन्।

भोटखोला २ रुकुमका शिक्षक कमल लामाले आफ्नो गाउँसम्म सडकको चाहना राख्ने आफ्ना बुवाको पालामा सपना पूरा हुन नसके पनि आफ्नो पालामा भने विकासको मुहार हेरेरै मर्ने अपेक्षा गरेका छन्। सदरमुकाम खाँदबारीबाट हप्ता दिनको पैदल दूरीमा पर्ने किमाथांकाको सयौँपटक यात्रा गर्दा आफूलाई राज्य र सरकारप्रति सधैँ ग्लानी हुने गरेको उनको भनाइ छ। उनले भने, 'आफ्नै देशमा पाहुना हुनुपरेको छ। राष्ट्रका लागि करोडौँको आम्दानी भित्र्याइरहेको दर्जन बढी बहुमूल्य जडीबुटी, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौँ पर्यटक तान्न सक्ने प्राकृतिक दृश्य तथा दर्जनौँ हिमश्रृंखलाले भरिपूर्ण भोटखोला क्षेत्र राज्यबाट पूर्णरूपमा उपेक्षित रहेको छ।'

संखुवासभाको भोटखोलावासीहरू बहुमत प्राप्त वाम सरकारप्रति यतिबेला आशावादी बनेका छन्। राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातिको बसोबास रहेको विकट दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग पर निर्भर रहँदै आएका छन्। भोटखोलाको किमाथांका चिनको तिब्बतसँग जोडिएको छ।

देन्दाङ र किमाथांकाबीच आकाश पातालको फरक  

किमाथांका पुगेका कुनै पनि नागरिक नेपालभन्दा फरक मुलुक पुगेको महसुस गर्छन्। यहाँका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतको रियु जिल्लामा पर्ने देन्दाङ शहर र नजिकैका चाँगासँग जोडिएर बसेका छन्। करिब ५ किलोमिटरको फरकमा पर्ने देन्दाङ शहर र नेपाली भू–भाग किमाथांकाबीच विकासको सन्दर्भमा आकाश जमिनको फरक छ। तिब्बतीय भोटे जीवनशैली र नेपाली भोटेको जीवनशैली उस्तैउस्तै देखिन्छन्।

सम्बृद्ध मुलुक चीन र भारत जोड्ने संखुवासभाको किमाथांका नाका सबैभन्दा छोटो नाका पर्दछ।  किमाथांका नाका संचालनका लागि पटक पटकको सरकारले भोटेखोलावासीसामु प्रतिबद्धताहरू व्यक्त गरिसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा मुलुकका प्रभावशाली नेताहरूले ६ लेनको बाटो बनाउने सरकारी घोषणा गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, माधवकुमार नेपाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व -परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वअर्थमन्त्री रामशरण महत लगायतका दर्जनौं राष्ट्र नायकले उक्त क्षेत्रको भ्रमण गरिसकेका छन्। पटक-पटक सडक र किमाथांका नाका संचालन गर्ने प्रतिबद्धता जाहेर गर्ने सरकार र दलका नेताले गरेका प्रतिबद्धताहरू भोटखोलावासीहरूले अझै बिर्सेका छैनन्।

पुस्तौँदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफूहरूलाई न्याय दिने उनीहरूको विश्वास छ। पटक-पटक राष्ट्रका प्रमुख व्यक्तित्वहरूको आश्वासन संगाल्दै बहुमत प्राप्त बाम सरकारबाट सपना पूरा हुने भोटेखालावासीले आशा राखेका छन्। संखुवासभाबाट प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ६ जना सांसदहरू निर्वाचित भएका छन्।

चीनको उद्गमस्थल रहेको सप्तकोसी नदीको सबैभन्दा ठूलो सहायक अरुण हिमनदी यसै भोटखोला क्षेत्र हुँदै नेपाल प्रवेश गरेको छ। यसबाट ९ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माणाधीन अवस्थामा छ भने माथिल्लो अरुण ७ सय २५ मेगावाटको अध्ययन भइरहेको छ। अझै हजारौँ मेगावाट बिजुली उत्पादन गरी अरबौंको बैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने प्रशस्त सम्भावना भोटखोला क्षेत्रले बोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.