‘बाबुरामले पहिला प्रपोज गरे’

|

‘बाबुरामसँग तपाईंको पहिलो भेट कहाँ भएको थियो?’, कुराकानीको सुरुवात भइसकेपछि मैले गरेको पहिलो प्रश्नमा हिसिला मुस्कुराइन्। ‘यस्तो विषयमा भन्दा देश र जनताको विषयमा कुरा गरौँ न, हुँदैन?’, हिसिलाले भनिन्। ‘त्यस विषयमा अर्काे पटक समीक्षा गरौँला’, मैले भने। 

सुरुमा  बाबुरामका विषयमा अनुत्तर भएकी हिसिला विस्तारै आफ्नो प्रेम प्रसंगबारे खुल्दै गइन्।

करिब ४३ वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीको भेट भयो। भारतको चण्डिगढबाट आर्किटेक्चरमा स्नातक गरेपछि बाबुराम दिल्ली गए। हिसिला दिल्लीको स्कुल अफ प्लानिङ आर्किटेक्चरमा पढ्दै थिइन्।  बाबुराम पनि त्यहीँ पुगे। 

२०३२ सालतिर बाबुराम र हिसिलाको भेटघाट भयो। अनौपचारिक भेटघाटको करिब चार वर्षपछि दुवै वैवाहिक बन्धनमा बाँधिए। बाबुराम शालीन र कम बोल्ने, हिस्सी परेकी हिसिला बोलिरहने। उनीहरूबीच करिब एक वर्ष प्रेम सम्बन्ध रह्यो।

यसरी प्रस्ताव गरे बाबुरामले हिसिलालाई

‘सायद बाबुराम नासाको वैज्ञानिक हुनुहुन्थ्यो, म पनि कुनै शहर वा भवन निर्माणमा तल्लीन हुन्थेँ’, विगत सम्झँदै हिसिलाले भनिन्, ‘दुवै जना त्यो चटक्कै छाडेर जनयुद्धमा होमियौँ। उहाँलाई देश र जनताको अत्यधिक चिन्ता थियो।’

बाबुराम सानैदेखि फरक स्वभावका थिए। २५–२६ वर्ष हुँदा पनि विवाह भएको थिएन। बाबुरामलाई मुलुककै चिन्ता भएको बताउँदै हिसिलाले भनिन्, ‘मलाई नजिकबाट चिनेपछि विवाह गर्दिनँ भनेको मान्छे आफैँले प्रस्ताव गर्‍यो।’ 

हिसिलाले आफूमा बाबुरामले एउटी श्रीमतीमा हुनुपर्ने सबै गुण देखेर मनपराएको बताइन्। ‘हिसिला बोझ हुने महिला होइन भन्ने सोचेर होला, अब ब्या गर्ने भनेर मलाई सोध्यो, म पनि दंग परेँ’, मुस्कुराउँदै हिसिलाले सुनाइन्, ‘उहाँको मनमा खेलेको कुरा थाहा थिएन अनि प्रस्ताव गर्ला भन्ने त सोचेकै थिएन। मान्छे जे भए पनि ग्रामीण क्षेत्रबाट आएको। पिएचडी बोर्ड फस्र्ट, एक पटक मात्रै होइन, डबल बोर्ड फस्र्ट। प्रत्येक ठाउँमा अब्बल भइरहेकोे छ, यस्तै सोचेर हुन्छ भनेँ।’

आफ्नो र बाबुरामको प्रेम प्रसंग सुनाइरहँदा हिसिला केही उत्साहित भइरहेकी थिइन्। ‘बाबुरामले प्रस्ताव गरेपछि मैले पनि सोचेँ, केटो त जेनुन छ। अरूभन्दा समावेसी पनि छ। आफू बाहुन भएर पनि समावेशी कुरा गर्छ’, हिसिलाले भनिन्, ‘प्रपोज राख्नासाथ हुन्छ त भनिनँ, केही समय दिनू भनेपछि सोच्दा कुनै खोट देखिनँ अनि हुन्छ भनेँ।’

हिसिलालाई बाबुरामको धैर्य सबैभन्दा प्यारो लाग्छ। वर्तमान अवस्थालाई दर्शाउँदै उनले भनिन्, ‘उहाँले बना’का मन्त्रीहरू आज पार्टी छाडेर जाँदा पनि उहाँ विचलित हुनुभएको छैन, यो पनि त उहाँको धैर्य हो नि, होइन र?’

बाबुरामले हिसिलालाई प्रेम प्रस्ताव राखेपछि केही समयमा हिसिलाले स्वीकार गरिन्। ‘त्यही बेला बाबुरामको दुर्घटना भयो। उनलाई मैले स्या’र गरेँ, प्यार गरेँ। अर्काे साल विवाह भयो। त्यसको पाँच वर्षपछि मानुषी जन्मिइन्।’ 

‘सशस्त्र द्वन्द्वमा बन्दुक पड्काइनँ’ 

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बाबुराम दम्पति युद्धमा होमिए। तर हिसिलाले युद्धमा लडाकुको भूमिका निर्वाह गर्नुपरेन। उनी पढेलेखेकी बौद्धिक महिला भएका कारण पनि उनको प्रयोग भौतिक लडाइँमा भन्दा वैचारिक लडाइँमा हुन्थ्यो। उनले जनयुद्धका बेला अन्तर्राष्ट्रिय विभाग पाएकी थिइन्। महिला विभाग प्रमुख पनि थिइन् उनी। 

‘मैले अन्तर्राष्ट्रिय विभाग हेर्ने, महिला विभाग प्रमुख पनि थिएँ। महिला पिएलएहरूलाई कक्षा लिन्थेँ। महिला मोर्चालाई बलियो बनाउन लाग्थेँ। यस्तैयस्तै हुन्थे मेरा काम।’ 

उनले युद्धमा बन्दुकभन्दा बढी कलम बोक्नुपरेको थियो। ‘मैले युद्धका समयमा महिलाका समस्याहरू पनि उठान गर्थें। त्यसैले पनि होला बन्दुकभन्दा बढी कलमकै प्रयोग गर्थें।’

जब बाबुराम-हिसिला कारवाहीमा परे

बाबुराम र हिसिला सशस्त्र युद्धका बेला कारवाहीमा परेका थिए।  हिसिलाले फरक मत राख्दा पटक पटक कारवाहीमा पर्ने गरेको खुलाइन्। ‘त्यो बेला पनि रायमाझी लाइन र पुष्पलाल लाइन थियो’, हिसिलाले भनिन्, ‘हामीलाई पनि त्यही बहानामा कारवाही गरियो।’

‘अहिलेका ओली त्यो लाइनका होइनन्, उनी रायमाझीका हुन्। प्रचण्डको त कुरै नगरौँ, उनले त आफूलाई बीचमा राखेर सधैँ फाइदा लिइरहे। पहिला जनयुद्धमा उहाँ किरण (मोहन वैद्य) र हामीबीचमा बसेर फाइदा उठाउनुभयो’, आफ्नो धार पुष्पलाल धार भएको बताउँदै उनले भनिन्, ‘किरण गए पनि उहाँले नारायणकाजी ल्याउनुभयो। अहिले नारायणकाजीलाई पनि साइड लगाएर ओलीसँग हुनुहुन्छ। ऊ जहिले पनि बीचमा बसेर खेल्ने मान्छे रहेछ।’ प्रचण्डप्रति उनको असन्तुष्टि तीब्र थियो।

युद्धबाट आएको दलले सरकारको नेतृत्व सम्हालरिहँदा पनि हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नरोकिएको प्रति हिसिला रुष्ट छन्। ‘अहिले रक्षक नै भक्षक भएजस्तो लाग्छ’, हिसिलाले भनिन्। 

अब मुलुकको उत्तराधिकारी छोरी बन्ने उनी बताउँछिन्। हिसिलाले भनिन्, ‘म मन्त्री हुँला भनेर कहिल्यै सोचेकी थिइनँ। बाबुराम प्रधानमन्त्री होलान् भन्ने त कल्पना नै थिएन। यस्तो बेला छोरीले देश चलाउने अवस्था नआउला भन्न कहाँ सकिन्छ र!’

हिजो जनयुद्धका कमाण्डर गृहमन्त्री अहिले भूमिगत गृहमन्त्री भएका भन्दै हिजो बारुद, बमसँग खेल्ने मान्छे आज भूमिगत भएको उनले बताइन्। ‘उहाँको कुनै प्रतिक्रिया आइरहेको छैन। यस्तो बेला कैयौँ निर्मलाहरू निर्मम भएका छन्’, हिसिलाले भनिन्।

झूटको सहारामा हुर्किइन् मानुषी 

बाबुराम र हिसिलाले मानुषीलाई आफ्नो सन्तानको रूपमा कहिल्यै चिनाएनन्। नजिकका आफन्त र इष्टमित्रबाहेक अरूले चिन्ने मौका नै पाएनन्। द्वन्द्वरत समयमा मानुषी प्रत्यक्ष रूपमा बुबाआमासँग सम्पर्कमा रहिनन्। उनी अध्ययनमै थिइन्। 

भारतका उत्कृष्ट युवती अध्ययन गर्ने दिल्लीको लेडिज श्रीराम कलेजमा मानुषीलाई भर्ना गर्दा उनीहरूलाई समस्या नै भयो। ‘नाम र काम खुलाउने अवस्था थिएन, छोरीलाई सिक्किमको परिचय दिएर भर्ना गरेका थियौँ’, हिसिलाले बताइन्। 

कलेजमा मानुषीलाई कसैले नचिने पनि एक जना सुरभि भन्ने भारतीय महिलाले भने उनलाई पहिलेदेखि नै ध्यान दिएकी थिइन्। उनी फिल्म मेकिङ कोर्सका लागि श्रीराम आएकी थिइन्। केही समयपछि उनी अमेरिकाबाट फर्किइन् र मानुषीको जीवनमा आधारित वृत्तचित्र निर्माण गरिन्। बाबुराम, हिसिला र मानुषीलाई लिएर तयार पारिएको वृत्तचित्रको नाम ‘डटर अफ नेपाल’ राखिएको छ। यसमा मानुषीले झेल्नुपरेको समस्या र पछि पाएको सफलतालाई देखाइएको छ। 

‘हामीले छोरीलाई कसरी गलत परिचय दिएर पढायौँ भन्ने कुरा सबै त्यो फिल्ममा रहेछ। मैले भर्खर हेरेर आएकी, निकै राम्रो लाग्यो’, छोरीको जीवनमा आधारित वृत्तचित्रको तारिफ गरिन् उनले। 

अब मुलुकको उत्तराधिकारी छोरी बन्ने उनी बताउँछिन्। हिसिलाले भनिन्, ‘म मन्त्री हुँला भनेर कहिल्यै सोचेकी थिइनँ। बाबुराम प्रधानमन्त्री होलान् भन्ने त कल्पना नै थिएन। यस्तो बेला छोरीले देश चलाउने अवस्था नआउला भन्न कहाँ सकिन्छ र!’

हिजोआज कस्तो छ बाबुरामसँगको माया प्रेम?

संवाद सुरु हुनुभन्दा केही समयअघिसम्म निकै हतारमा रहेकी हिसिला आफ्ना जीवनका कथा व्यथा सुनाउन थालेपछि धारा प्रवाह भइन्। बाबुरामसँगको प्रेम, मानुषीका बाध्यता, आफ्ना रहर पोख्दै गएकी हिसिलाले जीवनमा सबैभन्दा सफल पुरुषलाई जीवनसाथीका रूपमा पाएको भन्दै बेलाबेलामा तारिफ गरिरहिन्। 
बाबुराम सामान्य परिवारका भए पनि हिसिलाका परिवार भने पहिलेदेखि नै राज्य सत्तासँग नजिक थिए। २००८ सालमा उनका बुबा धर्मरत्न यमी वनमन्त्री बनेका थिए। ‘बुबा मन्त्री हुनुहुन्थ्यो, आमा मन्त्री नभए पनि राजनीतिमा धेरै संघर्ष गर्नुभयो’, हिसिलाले भनिन्। 

बाबुराम र हिसिला अहिले अधिकांश समय पुस्तकका विषयमा छलफल गर्छन्। सहयात्राका चार दशक पुग्नै लाग्दा दुवैले एकअर्कालाई राम्ररी बुझिसकेको बताउँछन्। ‘ऊ अलिक कम हाँस्ने भएकाले मैले अलिक बढी हाँस भन्छु। उसले पनि अलिक बढी पढ भन्छ। पहिले पहिले मैले यसरी किताब बोकेर हिन्थिनँ’, आफूसँग रहेको एउटा पुस्तक देखाउँदै हिसिलाले भनिन्, ‘उसैबाट सिकेर प्रत्येकचोटि बाहिर गएँ भने एउटा किताब सक्छु।’ 

बाबुराम र हिसिला अहिले पनि केही राम्रा चलचित्र लागेमा सँगै हेर्न पुग्छन्। हिसिलाले भनिन्, ‘जनयुद्धका समयमा पनि धेरै फिल्म हेरियो, कति फिल्म त हेर्दा हेर्दै चित्त नबुझेर आदिमै छाडेर हिँडेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.