|

जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज आइतबार तेस्रो दिन धनुषयज्ञ हुने भएको छ। धनुष यज्ञका लागि जानकी मन्दिरले आफ्नो सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। 

माता सीताले शिवजीको धनुषा उठाएपछि, पिता जनकले शिवजीको धनुषमा प्रत्यञ्चा चढाउन सक्ने पुरुषसँग मात्रै छोरीको बिहे गरी दिने प्रण अनुसार धनुषयज्ञ भएको सम्झनामा प्रत्येक वर्ष धनुषयज्ञको समारोह आयोजन हुने गरिन्छ। भगवान रामले शिवजीको धनुषमा प्रत्यञ्चा चढाएपछि माता सीतासँग बिहे भएको पौराणिक मान्यताअनुरुप सोहीको स्मरणमा विवाह पञ्चमी महोत्सवअन्तर्गत धनुष यज्ञ कार्यक्रमको आयोजन हुने गरिएको जानकी मन्दिरका सह-महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

धनुष यज्ञ जानकी मन्दिरको प्रांगणमा बेलुका ५ बजे हुने सह-महन्थ रामरोशन दासले जानकारी दिए। यस अघि शनिबार साँझ विवाहपञ्चमीको दोस्राे दिन फुलबारी लीला सम्पन्न भएको थियो। माता सीताको भगवान रामसँगको पहिलो भेट फूल टिप्न गएकै बेला भएको स्मरणमा फूलबारी लीला मनाइने गरिन्छ। महोत्सवअन्तर्गत पहिलो दिन शनिबार नगर दर्शन कार्यक्रम गरिएको थियो।

महोत्सवअन्तर्गत पहिलो दिन जनकपुर नगर दर्शन, दोस्राे दिन फूलबारी लीला, तेस्राे दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ। महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गर्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.