|

 काठमाडौं : भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपाल भारत सम्बन्ध सुधार गर्नका लागि पाको व्यक्तिको आवश्यकता परेकाले आफू राजदूत भएर जान तयार भएको बताएका छन्। संसदीय सुनुवाइ समिति बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आचार्यले नेपाल-भारत सम्बन्ध जटिल मोडमा भएकोले बलियो राजनीतिक पृष्ठभूमि भएको र पाको व्यक्ति जानुपर्छ भन्ने धारणा आएकाले आफू दिल्ली नान तयार भएको बताएका हुन्। आचार्यले अहिले भारतले नेपालको दैनिक राजनीतिमा सुझाव दिइरहन आवश्यक नरहेको र परिस्थिति बदलिएको भएकाले सोहीअनुसार भारतलाई सम्झाउनुपर्ने अवस्था आएको बताएका छन्।

उनले राजदूत भएर गएपछि आफैँले यो बदलिँदो परिस्थितिलाई भारतको संस्थापनसामू राख्ने र उसको मानसिकता परिवर्तन गराउन भूमिका खेल्ने बताए। आचार्यले राजदूतमा जागिर खानका लागि आएको नभई दुई देशको सम्बन्ध सुधारमा भूमिका खेल्नका लागि तयार भएको बताएका छन्। सांसदहरूले राजदूतहरू जागिर खान मात्रै जाने गरेको भन्ने असन्तुष्टिको जवाफमा उनले नेपाल भारत सम्बन्ध नयाँ मोडमा रहेकाले त्यसलाई सही अवतरण गराउन आफू राजदूत बन्न तयार भएको बताएका हुन्। उनले देशको विकास र समृद्धिका लागि भारतसँग सम्बन्ध राम्रो हुनुपर्ने बताए।

उनले आफू भारतमा राजदूत भएर गएपछि दुईदेशबीच रहेको आशंकाको वातावरण अन्त्य गर्ने कुरा प्राथमिकतामा रहने बताए। उनले भारत मित्रदेश रहेकाे र उससँग कुरा गर्दा सामुन्ने आफ्ना धारणा खुलस्त राख्नुपर्ने बताए र त्यो कुरा आफ्नो प्राथमिकतामा पर्ने बताए। उनले भारतसँग सीमा समस्या, व्यापार घाटा, दुईपक्षीय सम्झाैताकाे कार्यान्वयनमा रहेका समस्या, बहुपक्षीय सम्बन्धमा रहेका समस्या समाधान गर्न आफूले भूमिका खेल्ने बताए। उनले भारतसँग समान र सार्वभौम सम्बन्ध राख्न भूमिका खेल्ने बताए। 'भारतसँग सम्बन्ध सुधार्न कठोर मिहिनेत गर्नुपर्नेछ, त्यो भनेको बौद्धिक मिहिनेत हो कुस्ती खेल्ने होइन। कूटनीतिक मिहिनेत हो', उनले भने, 'नेपाद भारतबीच घनिष्ठता छ भने मन र दिमागमा किन हुँदैन? त्यो गर्न मेरो भूमिका रहनेछ।' उनले दुई देशबीच विश्वासको वातावरण बनाउन राजनीतिक तहमा खुलस्त छलफल हुनुपर्ने बताए।

दुई देशका विभिन्न समस्या समाधान गर्न गठन भएको प्रबुद्ध व्यक्तिहरूको समूह ईपिजीको  प्रतिवेदन सार्वजनिक भए दुई देशबीच रहेका अविश्वासका कुरा अन्त्य हुने बताए। उनले उक्त प्रतिवेदन बुझ्न भारतीय पक्षलाई सम्झाउने पनि बताए। दुई देशका प्रतिनिधिले तयार पारेको प्रतिवेदनमा सामन्जस्यता देखिएको उनको भनाइ थियो। उक्त प्रतिवेदन भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले समय नरहेको भन्दै बुझ्न नमानेको बताइएको छ। आचार्यले उक्त प्रतिवेदन बुझेर सार्वजनिक भए दुई देशको सम्बन्ध राम्रोसँग अगाडि बढ्ने दाबी गरे। प्रतिवेदनमा दुई देशबीचका समस्या र तिनका समाधानका उपाय सुझाइएको बताए।

सुनुवाइ समितिमा रहेका सांसदहरूले नेपाल भारतबीच रहेका समस्या समाधान गर्न राजदूत भएपछि कस्‍तो भूमिका खेल्ने भनेर प्रश्न गरेका थिए। सांसद योगेश भट्टराईले भारतमा राजदूत भएर गएपछि चीनको चासोको पनि सम्बोधन गर्नुपर्ने बताए उनले चीन र भारतले लिपुलेकमा नेपाली भूमि मिचेका र त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताए। उनले भारतमा रहेका नेपालीहरूमाथि भइरहेको विभेद अन्त्य, उनीहरूको सुरक्षाबारे पनि पहल गर्नुपर्ने बताए। सांसद जितेन्द्रनारायण देवले दुईदेशबीच रहेको राजनीतिक अविश्वास अन्त्य गर्न भूमिका खेल्नुपर्ने बताए भने भारतलाई ईपिजी प्रतिवेदन स्वीकार गराउन के भूमिका खेल्नुहुन्छ? भनेर प्रश्न गरेका थिए। उनले आचार्यले समितिलाई आफ्नो सबै पक्षबारे जानकारी नदिएको र दम्भ देखाएको भन्दै असन्तुष्टि जनाएका थिए।

सांसद शिवकुमार मण्डलले नेपाल भारतबीचका समस्याका पहिचान कागजमा भएपनि समाधान नभएको बताए। उनले राजदूत भएर गएपछि विगतकाे निरन्तरता भन्दा पनि नयाँ काम देखाउनुपर्ने बताए। उनले परम्परागत समस्याको माैलिक समाधान दिनुपर्ने बताए। मण्डलले देशमा ठूला कुरा कुरा गर्ने तर दिल्ली गएपछि त्यहाँ सम्झौता गर्ने र आफ्ना एजेन्डा नराख्ने कुराको अन्त्य गर्नुपर्ने बताए। सांसद सुरेन्द्र पाण्डेले सबै समस्या देखाउने र अल्मलिने भन्दापनि काममा प्रथमिकीकरण गरेर अगाडि बढ्नुपर्ने बताए। आचार्यले नेपाल सरकार र परराष्ट्र मन्त्रालयले दिएका निर्देशन अनुसार काम गर्ने बताए। झन्डै दुई घण्टाको सुनुवाइका क्रममा आचार्यले आफू नेपाल सरकारको प्रतिनिधि भएर गएपछि सबै कुरामा खुलस्त कुरा गर्ने बताए। उनले भने, 'मित्र हो भने खुला कुरा गर्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.