|

तनहुँ : व्यासको तपोभूमिलाई विश्वभर प्रचार-प्रसार गर्न प्रकाशन गरिएको वेदान्त पुस्तक ‘व्यास प्रज्ञा’ को विमोचन गरिएको छ। २८औँ वेदव्यासको अवतरण क्षेत्र व्यासलाई विश्वभर चिनाउनका लागि सञ्चालन गरिएको हरिनाम संकीर्तनको विशेषांक पुस्तकको आइतबार तनहुँको दमौलीस्थित व्यासभूमिमा विमोचन गरिएको हो।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. बेनीमाधव ढकालले पुस्तकको विमोचन गर्दै आध्यामिक र सकारात्मक सोचले प्राणी जगतको कल्याण हुने बताए। सकारात्मक र आध्यामिक शिक्षाले विश्वको मानिसमा एकता ल्याएर शान्ति कायम गर्न सक्ने उनको भनाई छ। ‘सकारात्मक र आध्यामिक शिक्षाले गर्दा नै धर्तीमा हामीलाई हिड्न सक्ने भएका छौँ। हिन्दू धर्मको विश्वासले हामीमा भगवानको बास हुन्छ। भगवानको देनले मानव जगतलाई सही कार्य गर्न टेवा पुर्‍याएको छ,’ उनले भने, ‘जगत गुरु वेदव्यासको उत्पत्ति क्षेत्र व्यासको प्रचारप्रसार गर्न विभिन्न निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई चिनाउनका लागि विभिन्न कार्यक्रमहरू नगरपालिकाले अगाडि बढाइएको बताए। व्यास क्षेत्रमा १०८ फिट अग्लो व्यास ऋषिको मूर्ति निर्माण कार्य छिट्टै सुरु हुने बताउँदै व्यासको तपोभूमिमा सबैलाई टेक्न मन लाग्ने बनाउन 'पर्यटकीय हव' बनाउन आफू लागि परेको उनले बताए। व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि बृहत गुरुयोजना निर्माण भइरहेको न्यौपानेले बताए। 

कार्यक्रममा १८ महिने हरिनाम संकीर्तन सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न व्यक्ति, संघ-संस्था, आमा समूह लगायतलाई सम्मान समेत गरिएको थियो।महेश सन्यास संस्कृत गुरुकूल विद्यापीठका प्रा.डा.गुरुप्रसाद सुवेदीले पुस्तकमाथि समीक्षा गरेका थिए। २०७३ कार्तिक १ गतेदेखि सुरु भएको १८ महिने हरिनाम संकीर्तन २०७४ चैत्र मसान्तमा समापन गरिएको थियो।

वेद अनुयायी प्रतिष्ठान नेपालले वेदव्यासको प्रचार-प्रसारका लागि पुस्तक प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.