|

सुनसरी : नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालतले सफाई दिएको छ। अपहरण तथा शरीर बन्धकको मुद्दा खेपिरहेका पौडेललाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सफाई दिएको हो।

सोही मुद्दामा पौडेलसँगै नेविसंघका पूर्वकेन्द्रीय सदस्य सूर्य राई र रोशन तामाङले पनि सफाइ पाएका छन्। यसअघि जिल्ला अदालत सुनसरी र उच्च अदालत विराटनगरको फैसलालाई बदर गर्दै सर्वोच्च अदालतले सभापति पौडेललाई सफाई दिएको हो। उनीमाथि २०६९ सालमा इटहरीका दुर्गाबहादुर अधिकारीलाई अपहरण गरी पैसा लुटेको अभियोग लागेको थियो।

तास खेल्ने क्रममा उनले अधिकारीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो। यो प्रकरणमा प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि अधिकारीले पुनरावेदन अदालतमा परमादेशको माग गर्दै रिट निवेदन हालेका थिए। पुनरावेदनबाट परमादेश जारी भएपछि २०७० फागुन २६ गते मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि पौडेल फरार भएर केही समयपछि जिल्ला अदालतमा उपस्थित भएका थिए।

पौडेललाई जिल्ला अदालत सुनसरीले साढे तीनवर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो। पौडेलले यो फैसलाविरुद्ध तत्कालीन पुनरावदन अदालत विराटनगरमा पुनरावेदन दिएका थिए। पुनरावेदनले जिल्ला अदालतको फैसलामा दिइएको सजाय घटाएर दुई वर्ष कैद र २५ हजार जरिवाना कायम गरेको थियो।

पौडेलले पुनरावेदनको फैसलाप्रति पनि चित्त नबुझेपछि सर्वोच्च गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.