|

बझाङ : तत्कालीन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षण अभावमा जीर्णबनेको छ। केही वर्षअघि प्रयोग गर्दै आएको नेपाली सेनाको टुकडी नयाँ भवनमा सरेपछि संरक्षण अभावमा भोपुर दरबार जीर्णबनेको हो।

नेपाली सेना बस्न छाडेपछि दरबारको भित्र रहेका कोठा, खोपी र बैठक कक्षको सिलिङमा रहेको काठ खसिसकेको छ। ग्यालरी र बरण्डामा ठूला ठूला भ्वाङ परेका छन्। भित्ताहरु खुइलिएर दरबारको स्वरूप नै बिग्रिने अवस्थामा पुगेको छ भने झ्यालका काठ पनि कुहिन लागेको छ। विभिन्न ठाउँमा लगाएको गारो खसेको छ। 
बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलको रूपमा रहेको भोपुर दरबार बेवारिसे बनेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व्यक्त गरेका छन्। ‘तत्काल जिर्णाेद्धार गर्न सकिएन भने यसको अस्तित्व नै नरहन सक्छ’ नागरिक समाजमा अगुवा धर्मजंगबहादुर सिंहले भने ‘दिनप्रतिदिन दरबार जीर्णबन्दै गएको छ। यही हालतमा रहने हो भने केही वर्षमै भत्किन सक्छ’

तत्कालीन बझाङी राजा देविजङ्गबहादुर सिंहले विक्रम संवत् १९९० सालमा सुरु गरेर १९९५ सालमा निर्माण सम्पन्न गरेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो। उनको निधनपछि आफन्तहरुले २०४० साल तिर नेपाल सरकारलाई बिक्री गरेपछि यस दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो। २०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेना हेमन्तवाडा सरेपछि दरबार बेवारिसे बनेको छ। 

२०६० सालमा तत्कालिन विद्रोही पक्षले दरबारमा आगजनी समेत गरेका थिए। स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक अन्यत्र दरबारमा क्षति हुन भने पाएन। आगलागीबाट क्षति भएको भाग अहिले पनि उस्तै छ। 

२०६३ सालमा शान्तिसम्झौता भए पछि नेपाली सेनाको एउटा टुकडी पुन भोपुरमा बस्न थालेको छ। दरबार जीर्णभैसकेका कारण त्यहाँ बस्न नमिल्ने भए पछि सेना नयाँ भवनमा बस्न थालेको हो। ‘दरबार भत्किनै लागेको छ’ बझाङ स्थित संग्राम शार्दूल गुल्मका गुल्मपति मुक्तिविक्रम शाहले भने ‘हाम्रो नयाँ भवन निर्माण भइसकेका कारण त्यहाँ बस्नु पर्ने आवश्यकता पनि छैन।’

१९९० सालको भूकम्पबाट त्रसित राजा देविजङ्गले भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्री ल्याएर यो भवन बनाउन लगाएको बझाङी राजाको इतिहासको लामो अध्ययन गरेका पूर्वप्राध्यापक विष्णुभक्त शास्त्रीले बताए। ‘भूकम्पबाट डराएका राजाले यो भवन निकै बलियो हुने गरि निर्माण गर्न लगाएको देखिन्छ’ उनले भने, ‘भवनको जग मात्र एउटा बास डुब्ने गरी खन्न लगाएको भन्ने विभिन्न स्रोतबाट पुष्टि भएको छ’ भवन निर्माणको क्रममा मासको गारो लगाइएको र वास्तुदोष नलागोस् भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग गरिएको उनले बताए। 

‘राजा देवीजङ्ग आफैँ पनि वास्तुविज्ञ थिए’ उनले भने ‘यो भवनको जस्तो मोडेल र निर्माणशैली अन्त कतै पनि भेटिएको छैन’ संरक्षण नगरिएका कारण बझाङमा रहेका थुप्रै पुरातात्त्विक महत्त्वका दरबारहरु भत्किसकेको र भएका पनि जीर्णबन्दै गएको प्रति चिन्ता व्यक्तगर्दै उनले भने ‘यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई राज्यले बेवास्ता गर्न नहुने हो। भोलिको पुस्ताले समेत हेर्न मिल्ने गरेर यस्ता सम्पदाको संरक्षण गर्नुपर्छ।' 

बाहिर जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएकोप्रति चिन्ता व्यक्त गर्ने गरेका छन। कैलालीका एक जना पर्यटनकर्मी रमणचन्द्र श्रेष्ठ भन्छन। ‘बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रर्बद्धन हुन सकेन भने भोलि पछुताउनुको विकल्प हुने छैन’, उनले यसको जिर्णाेद्धार हुन सके जिल्लाको पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने बताए।

दरबारको जिर्णाेद्धार गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृति झल्काउने खालको संग्रहालयको रूपमा विकास गरिनुपर्ने यहाँका बासिन्दाको माग छ। ‘बझाङको परम्परागत भेषभूषा, कला संस्कृति समेत लोप हुन थालेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.