|

काठमाडौं :  गैर स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको भन्दै नेपाल चिकित्सक संघले बिरोध जनाएको छ।

सरकारले आइतबार प्रधानमन्त्री कार्यालयमा रहेका  केदारबहादुर अधिकारीलाई सचिवमा सरुवा गरेको थियो। आज संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो प्राविधिक मन्त्रालयमा गैर स्वास्थ्यकर्मी सचिवमा नियुक्त गरेको भन्दै  तत्कालै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।

यस्तै संघले सरकारको  निर्णयको देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विरोध गर्नसमेत आग्रह गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ। सरकार आफैले निर्माण गरेको ऐन विपरित सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भावनामा चोट पुग्ने गरी गरिएको यसप्रकारको निर्णयले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भीर आघात पु-याएको छ। यस्तो विषमपूर्ण परिस्थितिमा निर्वाध रुपमा पु-याउँदै आएको स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भएको हुँदा उक्त निर्णय यथाशीघ्र फिर्ता लिन नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।'

संघले ०७१ भदौ ८ गते आफूहरुसँग सरकाले गरेको सहमति  विपरित गैर स्वास्थ्यकर्मीलाई सचिवको रुपमा स्वास्थ्य मन्त्रालयमा ल्याइएको समेत आरोप लगाएको छ।

प्रधानमन्त्री कार्यालयमा रहेका अधिकारीलाई गत सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो। यता नवनियुक्त स्वास्थ्य तथा जनसंख्या सचिवले आजै मन्त्रालय पुगेर आफ्नो पदभार सम्हालिसकेका छन्।

यसअघिकी स्वास्थ्य  सचिव डा पुष्पा चौधरीलाई सरकारले असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधस्वरुप उनले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अदालतले उनको सरुवा तत्काल नगर्न आदेश दिएलगत्तै उनी सचिवकै रुपमा मन्त्रालय गइरहेकी भए पनि उनलाई जिम्मेवारी  विहीन बनाइएको थियो।

सचिव चौधरीसँग मतभेद बढेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक महिनाअघि मन्त्रालयका  १२औं तहका प्रमुख विशेषज्ञ चिकित्सक डा. सुशीलनाथ प्याकुरेललाई सम्पूर्ण अधिकारसहितको निमित्त सचिवको जिम्मेवारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.