|

बैतडी : फलफूल खेतीबाट किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ। बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफल जमीनको ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। ओखरका विरुवा किसानहरूलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ। बगैँचा स्थापना गर्ने किसानहरुलाई प्रस्ताव ल्याउन आग्रह गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

बैतडीको सुर्नया गाउँपालिका वडा नं २ र ३, दशरथचन्द नगरपालिका वडा नं ९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाको वडा नं ४,पाटन नगरपालिका वडा नं १ र ९, सिगास गाउँपालिका,मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भई आएको छ।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ४ र ५, मालिकार्जुन गाउँपालिकाको वडा नं २,४ र ८, व्यास गाउँपालिकाको सुनसेरा,नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ। ओखर खेती गर्ने किसानहरुले पुस १० गतेभित्र कृषि ज्ञान केन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ।

ओखरको अत्यधिक माग भएकाले ओखरबाट किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि ओखरको बगैंचा स्थापना गर्ने कार्यक्रम ल्याइएको बताइएको छ। बजारमा ओखर प्रतिकेजी ६ सयदेखि आठसयमा विक्रि हुने गरेको छ।

यसैबीच  पछिल्लो केही वर्ष यतादेखि  बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछी स्याउको  विकल्पमा  ओखरखेती गर्न थालिएको छ।  अन्य फलफूल भन्दा ओखरबाट किसानहरुलाई आम्दानीका लागि राम्रो हुने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.