|

जनकपुरधाम : मिथिलाको सांस्कृतिक महत्वको रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन सोमबार तिलकोत्सव हुने भएको छ। विवाह महोत्सवको अवसरमा राम मन्दिर परिसरमा ‘तिलकोत्सव’ समारोह आयोजना हुने भएको हो।

सप्ताहव्यापी राम जानकी विवाह महोत्सवको पूर्वसन्ध्यामा आयोजित हुने तिलकोत्सवको अवसरमा हरेक वर्ष जानकी मन्दिर प्राङ्गणबाट भार (तिलक) आउने परम्पराअनुसार यस वर्ष पनि राममन्दिरका लागि तिलक आउने भएको छ। दिउँसो जानकी मन्दिरबाट बाजागाजा तथा फल फूल, लत्ता कपडा, मिष्ठान्नसहित आएका कन्यागत पक्ष नगर परिक्रमा गरी राम मन्दिर पुग्ने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए। बाजागाजा तथा लावालस्करसहित निस्कने टोलीलाई आयोध्यावासीको तर्फबाट नगरवासीहरुले फूलमाला तथा अविर छर्केर स्वागत गर्ने परम्परा रहेको छ।

तिलकोत्सव समारोहमा अयोध्याबाट आएका जन्तीसँगै स्थानीय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारी तथा गुठी समेतको सहभागिता रहने जनाइएको छ। मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवीत राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको यस महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धको रूपमा पनि लिइन्छ।

मंसिर २१ गते शुक्रबारदेखि सुरु भएको सात दिवसीय रामजानकी विवाह महोत्सवको पाँचौँ दिन मंगलबार मटकोर, छैटौँ दिन बुधबार राम जानकी विवाह महोत्सव तथा अन्तिम दिन रामकलेवा हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.