|

बैतडी : कुनै समयमा स्याउ उत्पादनका लागि प्रसिद्ध ठाउँ हो, बैतडीको सतबाँझ। दशरथचन्द राजमार्गसँगै जोडिएको दशरथचन्द नगरपालिका १ गुरुखोला र सुर्नया गाउँपालिका २ सतबाँझमा पछिल्लो समय स्याउ फल्न छोडेको छ।  

स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको हो। २०१९ सालमा स्थापित बागबानीविकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ।  

सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा स्याउ फल्न छोडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ। उक्त सुख्खा फलफूल विकास केन्द्र पछिल्लो समयमा सिकाइ केन्द्र बनेको छ। प्रदेश सातका विभिन्न जिल्लाका कृषि विषय लिएर पढिरहेका विद्यार्थीहरु प्रशिक्षार्थीका रूपमा केन्द्रमा पुग्ने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वरिष्ठ बागबानीविकास अधिकृत खगेन्द्रप्रसाद शर्माले जानकारी दिए।

अहिले पनि ४९ विद्यार्थी ओजीटीमा काम गरिरहेका छन्। उनले भने, 'सख्खा फलफूल विकास केन्द्रमा प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक सीप सिकाउने गरिएको छ।' 

फलफूलका बिरुवा, तरकारीबाली लगाउने तरीका, विषादीको प्रयोग, जैविक मलको प्रयोग लगायतका विषयमा उनीहरूले सुख्खा फलफूल विकास केन्द्रमा सिक्ने गरेको प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए। उनले भने,'किसानलाई पनि फलफूलका बिरुवालगायत कृषिसम्बन्धी अन्य सीप सिकाउने गरेका छौँ।'
सुख्खा फलफूल विकास केन्द्रबाटै फलफूलका बिरुवाको नर्सरी बनाउने सीप सिकेर दशरथचन्द नगरपालिका १ र सुर्नया गाउँपालिका २ बासुलिंगका किसानले निजी नर्सरीसमेत बनाएको छ। 

बोटविरुवाका निजी नर्सरीबाटै किसानले मनग्गे आम्दानी गरिरहेका छन्। यस्तै पछिल्लो समयमा प्राविधिक विषयतर्फ कृषि पढिरहेका विद्यार्थी पनि प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुग्ने गरेका छन्। बोटहरू कलमी गर्ने, ग्राफटिङ गर्ने, प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरिकाका बारेमा सिकाउने गरिएको छ। सुख्खा फलफूल विकास केन्द्रले प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरीकाका बारेमा सिकाउनका लागि सुख्खा फलफूल विकास केन्द्रभित्रै प्लास्टिक हाउसमा तरकारी खेती समेत गरिएको वरिष्ठ बागवानी विकास अधिकृत शर्माले बताए।

सुख्खा फलफूल विकास केन्द्रले कम चिस्यानमा उत्पादन हुने स्याउको जातको खोजीमा लागेको पनि जनाएको छ। चिस्यान कम भए पनि फल्ने स्याउको बिरुवा भन्दा पनि सुख्खा फलफूलका बिरुवा नर्सरीमा राखिएको छ। सशस्त्र द्वन्द्वका वेला व्यवस्थापन कार्यमा कमी आयो र स्याहारसम्भारमा ध्यान दिन नपाउँदा प्राकृतिक प्रकोपले अहिले समस्या आएको हो।

स्याउ फल्न छोडेपछि ओखर, नासपाती, खुर्सानी लगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको सुख्खा फलफूल विकास केन्द्रले किसानलाई सीप पनि सिकाइरहेको किसान देवदत्त भट्टले बताए। उनले भने, ‘हामीले पनि सुख्खा फलफूल विकास केन्द्रबाट धेरै सीप सिकेका छौँ। गुरुखोलामा मात्रै २२ ओटा निजी नर्सरी छन्। स्याउ फल्ने समयसम्म स्याउका बोट उत्पादन गर्थ्याे। अहिले हामीहरू पनि अन्य फलफूलका बिरुवा उत्पादनमा लागेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.