|

काठमाडौं : संसदको सुशासन समितिले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारस्थित संसदको सुशासन समिति बैठकमै आइजिपी खनाललाई बोलाएर देशको पछिल्लो सुरक्षाबारे समितिका सदस्यले चिन्ता व्यक्त गरेका हुन्।

साउन १० मा बलात्कारपछि हत्या भएकी कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न नसक्नुको कारण सोध्दै समिति सदस्य प्रमिला यादवले आइजिपीको राजीनामा नै माग गरेकी थिइन्।

'निर्मलाको हत्या भएको महिनौँ दिन भयो खाली निर्दोष मानिसलाई पक्राउ गरेर दु:ख दिने काममात्र भयो । बरु वास्तविक अपराधी पक्राउ गर्न नसक्ने भए राजीनामा गर्नुहोस् अर्को आउँछ,'  यादवको आक्रोश थियो।

समितिका सदस्यको प्रश्न सुनिरहेका प्रहरी प्रमुख आइजिपी खनालको अनुहार भने मलीन थियो। समितिका अर्का सदस्य रमेशजंग रायमाझीले त पंचायतकालमा पोखरामा भएको नमिता, सुनिता हत्याकाण्डको झलक दिने गरी निर्मलाको हत्या कसले गर्‍यो भन्दै यसबारेमा आइजिपीले सार्वजनिक गर्नु पर्ने बताए।

अन्य सदस्यलेसमेत निर्मला पन्त हत्यामा पछिल्लोपटक कुखुरा चोरलाई दोषी देखाउने कोसिसमा प्रहरी लागेको भन्दै प्रहरीको आलोचना गरेका थिए। त्यस्तै समितिले ३३ किलो सुनबारे समेत आइजिपीलाई प्रश्न गरेको थिए। पछिल्ला केही घटनाहरूमा बालक अपहरण र हत्याका घटनालेसमेत प्रहरी आलोचित हुन पुगेको छ।  

समितिका सदस्यको प्रश्न सुनिसकेपछि एकमुस्ट जवाफ दिएका आइजिपी खनाल भने निर्मला पन्त हत्याको प्रहरीले अनुसन्धान गरिरहेको भन्दै पन्छिन खोजेका थिए। 'निर्मला हत्याको अनुसन्धान भइरहेको छ, अनुसन्धानमा कसैको दबाब छैन। निर्मलाकै घटनाले मेरो निद्रासमेत लाग्न छाड्यो,' उनको जवाफ थियो।

निर्मला घटनामा आफ्नो कुनै कमजोरी देखिए बर्दी खोल्नसमेत तयार रहेको उनको भनाइ थियो। सुन काण्डमा समेत आफूले प्रहरीको तर्फबाट गर्नुपर्ने सबै सहयोग गरिसकेको जवाफ दिएका थिए।

पछिल्लोपटक निर्मला पन्त हत्यामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीबारे विभिन्न टिकाटिप्पणी आएपछि प्रहरीको आलोचना भएको छ।

यसअघि पनि प्रहरीले निर्मला हत्याकाण्डमा स्थानीय दिलिपसिंह विष्टलाई हत्यारा भन्दै सार्वजनिक गरेको थियो। पछि उनको डिएनए परीक्षणबाट मेला नखाएपछि उनी छुटेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.