|

 दुनै(डोल्पा) : हिमाली जिल्ला डोल्पामा सञ्चालित गैरसरकारी संस्थाहरूले नियमित नवीकरणबिनै आफ्ना गतिविधि सञ्चालन गरिरहेको पाइएको छ। जिल्ला प्रशासनमा कार्यालय डोल्पामा दर्ता भएका २ सय ५९ संस्थामध्ये २ सय ४२ वटा गैरसरकारी संस्थाहरूले नवीकरण नगरेरै काम गरिरहेको पाइएको हो।

यसवर्षसम्म १७ वटा संस्थाले मात्रै नियमित नवीकरण गर्दै आएको र ४३ वटा संस्थाहरू पूर्णखारेजीको सूचीमा परेको प्रजिअ भूपेन्द्र थापाले बताए। नवीकरणको लागि बारम्बार ताकेता गर्दा पनि लामो समयसम्म नवीकरण नगर्ने ४३ वटा संस्थाहरू पूर्ण खारेजीको सूचीमा परेको राखिएको थापाको भनाइ छ।

प्रशासनमा दर्ता भएका कुल २ सय ५९ संस्थामध्ये १ सय ९९ संस्थाहरूले आंशिक रूपमा नवीकरण गरेको जानकारी दिँदै पुन नवीकरणका लागि ताकेता गरिएको प्रजिअ थापाले बताए। 'खारेजीमा परेका र आंशिक रूपमा नवीकरण भएका संस्थाहरूले नवीकरण नगरेरै आफ्नो गतिविधि चलाएका हुन सक्छन्, छिट्टै त्यस्ता संस्थाहरूको अनुगमन गरेर कानुनी दायरामा ल्याउँछु' प्रजिअ थापाले भने।

०७५ असोज १६ गते ३५ दिने सूचना प्रकाशित गर्दै आवश्यक कागजात लिएर नवीकरणका लागि जानकारी गराइए तापनि अहिलेसम्म एउटा संस्था पनि नआएको प्रशासनले जनाएको छ। बारम्बार ताकेता गर्दागर्दै पनि नवीकरण नगर्ने संस्थाहरूमा  डोल्पा उद्योग वाणिज्य संघ, डोल्पा दलित सशक्तीकरण केन्द्र, डोल्पो धो तराप समाज सेवा, फोक्सुण्डोताल संरक्षण समिति, डोल्पो सामाजिक सहयोगका लागि तापिरिचा, डोल्पा पर्यटन सहयोग समिति, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका संस्थाहरू रहेका छन्।

प्रशासनले नबिकरणको लागि ताकेता गरेका संस्थाहरुले नवीकरण गर्न आउँदा संस्थाको कार्य प्रगति विवरण आर्थिक सहयोग गर्ने संस्था, बजेट, लाभान्वित संख्या र कार्य क्षेत्रसमेत उल्लेख गर्नु पर्ने जनाएको छ। सामाज सेवा र विकास गर्ने उद्देश्यका साथदर्ता भएका संस्थाहरू नै बेखबर भएपछि प्रशासनको ध्यानाकर्षण भएको बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.