|

सोलुखुम्बु : थुलुङदूधकोसी गाउँपालिका केन्द्र मुक्लिामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। गाउँपालिका केन्द्र मुक्लीमा आइतबार एक कार्यक्रम गरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो।

स्थानीय सरकार आएपछि गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी राख्न सफल पहिलो गाउँपालिका थुलुङदूधकोसी बनेको छ। यहाँको भूगोल, जनसंख्या तथा सुरक्षा अवस्थालाई मध्यनजर राख्दै प्रहरी चौकी राख्नको लागि गरिएको अथक  प्रयासपछि सफल भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

प्रहरी चौकी स्थापना भएपछि सुरक्षा अवस्था थप मजबुद बन्ने गाउँपालिकाले विश्वास लिएको छ। जिल्लाको तीन वटा गाउँपालिका, थुलुङदुधकोशी, लिखुपिके र महाकुलुङ गाउँपालिका केन्द्रमा प्रहरी चौकी छैन।

गाउँपालिका केन्द्रमा वित्तीय संस्थासमेत सञ्चालन हुने भएपछि जिल्ला सुरक्षा समितिले प्रहरी राख्नको लागि सिफारिस गरेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी शालिग्राम शर्माले जानकारी दिए। उनका अनुसार प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार मुक्लीमा प्रहरी सहायक निरीक्षक चन्द्रप्रसाद राववंशीको नेतृत्वमा पाँचजना  प्रहरी खटाइएको छ।

यस्तै, अस्थायी प्रहरी चौकी महाकुलुङ गाउँपालिका केन्द्र बुङमा समेत चाँडै स्थापना हुने जिल्ला प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए। थुलुङदूधकोसीमा यसअघि नै बैंक स्थापना भएकाले सुरक्षा व्यवस्था मजबुद बनाउनको लागि पनि चौकी स्थापना पहिलो प्राथमीकतामा परकेको बताइएको छ। थुलुङदूधकोसीमा ७ भदौदेखि लक्ष्मी बैंकले शाखा विस्तार गरी काम गरिरहेको छ। योसँगै गाउँपालिकामा बैंक स्थापना गर्ने पहिलो गाउँपालिका पनि थुलुङदूधकोसी नै बनेको छ।

बैंक स्थापना भएपछि झनै सुरक्षा चुनौती बढेकाले बारम्बार ताकेता गरेपछि चौकी स्थापना गर्न सफल भएको गाउँपालिका प्रमुख असिम राईले बताए। 'नमुना गाउँपालिका बनाउने हाम्रो अभियान तीव्र गतिमा अगाडि बढेको छ।' उनले भने, 'नेपालको ७५३ स्थानीय तहमध्ये हामी नमुना बन्ने गरी आधादर्जन गौरवको आयोजना सञ्चालन गर्दै छौँ, जसको लागि सुरक्षा आवश्यक छ।' अस्थायी दरबन्दीलाई स्थायी गराउनको लागि बारम्बार पहल गरिरहेको राईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.