|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा गत वर्षको विकासमा व्यापक अनियमिता भएको छानविन समितिले जनाएको छ। गत आर्थिक वर्षमा अनियमिता भएपछि बनेको छानविन समितिले विकासका काममा व्यापक अनियमिता भएको प्रतिवेदन सार्वजनिक गरेको हो।

सोमबार पत्रकार सम्मेलन गरी समितिले प्रतिवेदन सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक जंगबहादुर घलानले हरेक बिकाश निमार्णका काममा अनियमिता भएकोे बताए। समितिका संयोजक घलानले सार्वजनिक गरेको प्रतिवेदनमा नगर सभाबाट खोला खहरे,नदी किनारा संरक्षण कार्यक्रमका लागी छुटाइएको २० लाख रुपैयाँ काम नै नगरी बिल भर्पाइ गरेर दुरुपयोग गरेको उल्लेख गरिएको छ।

विगत ४ वर्षदेखि नगरपालिकामार्फत संचालन हुँदै आएको जेसिबीको हिसाव किताव नै शुन्य भएको सो प्रतिवेदनमा उल्लेख छ। हालसम्म सो जेसिबी ३ हजार घण्टा भन्दा बढी चलिसकेको छ। प्रतिवेदनमा अधिकांस योजनामा अनियमितता भएको पाइएको उल्लेख छ। 'सफा र सभ्य चन्द्रपुर हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर' बनाउने उद्देश्यका साथ तय भएको नारा अनुसार नगरपालिका तथा वडा कार्यालयले काम नगरेको प्रतिवेदनमा उल्लेख छ।

निर्माण गुणस्तरहीन, कमसल, लागत दर भन्दा फरक, निर्माण नगरी नै भुक्तानी दिएको पाइएको समितिले जनाएको छ। प्रतिवेदनमा  वडा अध्यक्षहरूले सदस्यहरू सहितको बैठक नराखी बजेटहरू खर्च गरेको, सार्वजनिक सुनवाई नगरेको, आम्दानी तथा खर्चको विवरण सार्वजनिक नगरेको, नगरसभाबाट विनियोजित भएका शीर्षकहरू भन्दा अन्य शीर्षकमा मनोमानी ढंगले बजेट  खर्च गरेको जनाइएको छ।

समितिको प्रतिवेदनमा शहीद पार्कमा निर्माण गरेको पोखरीमा लागत रकम कम गरेको, वडा १ को पौराई ब्रम्हस्थानको पर्खाल निर्माण गर्दा सोही मंन्दिरको स्वामित्वमा रहेको पहिले कै ढुंगा प्रयोग गरिए पनि भुक्तानी नया ढुंगाको भएको, वडा नम्बर ७ मा माथिल्लो चौधरी टोलको पोखरी मर्मत कार्यमा अनियममितता भएको, वडानम्बर ७, ९ र १० मा चर्पी निर्माणको लागि रिङ खरिदमा अनियमितता भएको, वडा नम्बर ५ को मुस्लिमटोलमा नाला र बाटो स्तर उन्नतिको कार्यको लागि पाँचलाख विनियोजन भएकोमा बाटो मर्मत नगरी पूर्ण रुपमा नाला सफा नगरी रकम अनियमितता गरेको, वडानम्बर ३ को गैडाटार कालापानी पर्यटकीय क्षेत्रमा भवन निर्माणको लागि ११ लाख र पोखरी निर्माणमा पाँच लाखमा पुरानै पोखरी देखाएर रकम हिनामिना गरेको, वडा नम्बर ४ को मुस्लिमटोलको सडक ग्रेभलमा ५७ हजार ५०० खर्च भएकोमा एकलाख ३० हजार देखाई भुक्तानी गरेको, युनिसेफको सहयोगमा संचालित ६ महिने किशाेरी शिक्षा कार्यक्रम एकमहिना मै सकेर अनियमितता गरेको, वडानम्बर ६ मा डाबरी पानी मुहान संरक्षणमा अनियमितता भएको लगायतका २६ वटा योजनामा व्यापक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

समितिले गतवर्ष संचालित २६ वटा योजनाको अनुगमन तथा छानविन गरेको थियो। गत आर्थिक वर्षमा चन्द्रपुरको १० वटा वडाहरूमा करिव एकहजार वटा साना तथा ठूला योजनाहरू संचालन गर्न ३३ करोड करिव रकम विनियोजना भएको थियो। हरेक वडामा दुई करोडको दरले रकम छुट्याइएको थियो। रकम अनियमितता भएको गुनासो बढेपछि यस आवको परिषद हुन नसकेपछि कार्यपालिका सदस्य जंगबहादुर घलानको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन भएको थियो। छानविन समितिमा गोपाल हुमागाइ, कृष्णबहादुर खड्का, राजन बराल,सुनिल चौधरी सदस्य रहेका थिए।

समितिले दशैं अगाडि नै नगरपालिकालाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.