सभापति कोठे बैठकमा

|

काठमाडौं : नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदालाई अन्तिम रूप दिन सकस भएको छ। केन्द्रीय समितिमा छलफल सकिएको विधान मस्यौदालाई अन्तिम रूप दिन सकस भएको हो।

विधानमाथि केन्द्रीय सदस्यले राखेको धारणालाई समेटेर विधान मस्यौदालाई महासमिति बैठकमा पेस गर्न योग्य बनाइनुपर्ने भए पनि नेताहरू गुटगत रूपमा विभाजित हुँदा समस्या भएको हो। 

सोमबारको बैठकमा विधानलाई अन्तिम रूप दिने भनिएको भए पनि सभापति शेरबहादुर देउवाले विधानलाई बैठकमा एजेन्डाको रूपमा प्रस्तुत गरेनन्। उनले बैठकमा पार्टीको समग्र आर्थिक नीतिमाथि छलफलको एजेन्डा प्रस्तुत गरे। पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा रहेको समग्र आर्थिक नीति पारित गरेसँगै देउवाले बैठक स्थगित गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानलाई टुंग्याउ भनेपछि बैठक स्थगित गरेर देउवा कोठे बैठकमा छिरे। बैठक सुरु हुनुभन्दा अघि पनि करिब दुई घण्टा संस्थापन पक्ष र असन्तुष्ट पक्षले आन्तरिक रूपमा कोठे बैठक गरेका थिए। 

विधान मस्यौदालाई आ–आफ्नो पक्षमा बनाउनका लागि संस्थापन पक्ष र असन्तुष्ट पक्ष क्रियाशील छ। आफ्नो पक्षमा नआए जसरी पनि विधान मस्यौदालाई रोक्ने रणनीतिका साथ असन्तुष्ट समूह अघि बढेको छ भने संस्थापन पक्ष विधानबाटै आफू कसरी बलियो हुन सकिन्छ भन्ने ध्याउन्नमा छ। त्यसकारण आफू कसरी शक्तिशाली हुने भन्ने रणनीति तय गर्न देउवा समूह बैठक स्थगित गरेर आन्तरिक छलफलमा गएका थिए। 

कांग्रेसको यही २८ गतेदेखि हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त विधान मस्यौदा सभापति देउवाले बहुमतमा पारित गर्ने बाटो छ। तर, महासमितिमा गएर विधान रोकिने डर पनि सभापति समूहमा छ। महासमितिमा विधानलाई पारित गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ। महासमितिमा देउवा समूहको असन्तुष्ट समूहभन्दा कमजोर छ। 

सोमबारको बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिने भने पनि सभापतिले एजेन्डै प्रस्तुत नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले गुनासो गरे। ‘सबै केन्द्रीय सदस्यको धारणालाई समेटर विधानलाई अन्तिम रूप दिने सहमति भएर शनिबार बैठक स्थगित भएको थियो’, वरिष्ठ नेता पौडेलले थाहाखबरसँग भने, ‘तर सभापतिजीले बैठकमा एजेण्डै प्रस्तुत गर्नुभएन।’

देउवा समूहले पनि सकेसम्म विधान मस्यौदालाई केन्द्रीय समितिबाट सर्वसम्त पारित गर्ने रणनीति लिएको छ। तर, उसको स्वार्थ पनि आफू बलियो हुनुपर्ने नै छ। असन्तुष्ट समूहले विधान मस्यौदामा जवरजस्ती गरे पुरानै विधान लाने रणनीति लिएको स्रोतको दाबी छ। ‘सभापतिले पनि विधानलाई सर्वसम्मत पारित गर्न खोज्नुभएको छ’, स्रोतले भन्यो,‘तर बढी विवाद गरे संघीय संरचनालाई मात्र समावेश गरेर साबिककै विधान महासमितिमा लाने तयारी पनि गर्नुभएको छ। सभापति समूहले पनि विधान मस्यौदालाई सर्वसम्मत पारित गर्न प्रयास गरिरहेको छ। आइतबार साँझ पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

पौडेल समूहले विधान मस्यौदामा पदाधिकारीको संख्या बढाउनुपर्ने, सभापतिलाई शक्तिशाली बनाउन नहुने लगायत मुद्दा अघि सारेको छ। केन्द्रीय समितिमा विवाद भए महासमिति बैठकमा लैजान पनि असन्तुष्ट समूहले संस्थापन समूहलाई सुझाएको छ। ‘केन्द्रीय समितिमा पास भएन भने त्यो विषयलाई महासमितिमा लैजाऊँ’, नेता नवीन्द्रराज जोशीले भने,‘त्यहाँबाट जे नतिजा आउँछ त्यहीअनुसार अघि बढौँला।’

सदस्यताका बारेमा भने नेताहरू एक मत देखिएको उनी बताउँछन्। नेपाली कांग्रेसको सदस्य र क्रियाशील सदस्य गरेर दुई प्रकारको सदस्य रहने गरी नेताहरू सहमत रहेको उनले थाहाखबरलाई बताए। 

विधान मस्यौदामा केही विषय टुंगिन बाँकी रहेकाले केन्द्रीय समितिमा पारित गर्न आन्तरिक छलफल भइरहेको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए। ‘विधान मस्यौदामा केही विषय टुंगिन बाँकी छ’, उनले भने, ‘त्यसका लागि हामी प्रयास गरिरहेका छौँ।’

मंगलबार ११ बजे बोलाइएको बैठकमा पनि सर्वसम्मत विधान मस्यौदा पारित गर्ने सम्भावना निकै कम छ। सर्वसम्मत नभए देउवा समूहले बहुमतका आधारमा भए पनि विधान मस्यौदालाई पारित गर्ने रणनीति बनाएको छ। ‘हामी भरसक सर्वसम्मतको प्रयास गर्नेछौँ’, सहमहामन्त्री महतले भने, ‘अहिले नै यसो हुन्छ त नभनौँ। तर सर्वसम्मत हुन नसके बहुमतीय प्रणाली त छँदै छ।’

केन्द्रीय समिति बैठकबाट सर्वसम्मत मस्यौदा पारित हुँदा असन्तुष्ट समूहले विधान मस्यौदा आफू अनुकुल बनाउन निकै मुस्किल छ। असन्तुष्ट समूहका नेताहरू बैठकमा कमै मात्र उपस्थित हुने गरेका छन्। बैठकमा उपस्थित भइहाले पनि उनीहरू बैठकको अन्तिमसम्म बस्दैनन्।

राजनीति प्रतिवेदन मस्यौदामा जुटेन सहमति

महासमिति बैठकमा पार्टीले तयार पारेको राजनीतिक प्रतिवेदन पनि पेस हुन्छ। यसका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रतिवेदन प्रस्ताव लेखन समिति बनेको छ। तर उक्त समितिले अहिलेसम्म केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सकेको छैन। 

शनिबार बसेको बैठकमा पेस गर्ने भनिए पनि मस्यौदा समितिमा आन्तरिक सहमति नजुटेका कारण राजनीतिक प्रतिवेदन सस्यौदाले अन्तिम रूप पाउन सकेको छैन। सोमबार बसेको बैठकमा प्रतिवेदन पेस गर्न संयोजक तथा पार्टी उपसभापति विमलेन्द्र निधिले प्रयास गरेका थिए। तर अन्तिमसम्म प्रयास गर्दा पनि उनले पेस गर्न सकेनन्। ‘आजै पेस गर्ने योजना थियो’, स्रोतले भन्यो, ‘तर सहमति जुटेन। अब भोलि ११ बजे पेस गर्ने कार्यतालिका छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.