|

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा प्रभावकारी सेवा प्रवाह नहुँदा बिरामीहरु मर्कामा परेका छन्। केही समयअघि उद्घाटन गरिएको अस्पताल दिन प्रतिदिन बेहाल बन्दै गएको छ। प्रभावकारी विद्युत सेवा नहुँदा एक्स–रेलगायतका सेवाहरु पनि रोकिएका छन।

अस्पतालमा प्रयोग भइरहेको जेनेरेटर नगरपालिकाकै पहलमा सञ्चालन हुन लागेको एक वाइन उद्योगमा लगिएपछि एक्स–रे सेवा बन्द भएको हो। सेवा बन्द भएपछि बिरामीहरु चर्को मूल्यमा निजी क्लिनिकहरुमा एक्स–रे गर्न बाध्य भएका छन्। निजी क्लिनिकमा ५०० रुपैयाँ तिरेर एक्स–रे गर्दै आएका छन्। उक्त सेवा अस्पतालले २०० रुपैयाँमा दिँदै आएको थियो।

अस्पतालका डाक्टर दिलशाही रोकाका अनुसार अस्पतालमा विद्युत भोल्टेज नपुगेकाले एक्स–रेका लागि निजी क्लिनिकमा पठाइएको हो। ‘यसअघि प्रयोग भएको जेनेरेटर अन्य ठाउँमा लगेपछि एक्स–रे सेवा दिन सकेका छैनौं,’ उनले भने, ‘अस्पतालमा उक्त सेवा बन्द भएपछि निजी क्लिनिकहरुले अस्पतालमा भन्दा दोब्बर शुल्क लिइरहेका छन्।’

नगर अस्पतालमा विद्युतको मात्र समस्या छैन। २५ शय्याको अस्पतालमा पर्याप्त जनशक्ति पनि नभएकाले बिरामीहरुले चर्काे मूल्यमा निजी क्लिनिकमा उपचार गर्न बाध्य छन्। अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले एक डाक्टरको व्यवस्था गरेको छ। ‘विद्युत समस्याका कारण प्रविधि प्रयोगमा समस्यासँगै यहाँ जनशक्ति पनि पर्याप्त छैन, म एक्लैले कति गर्न सक्छु,’ डा. रोकाले भने, ‘नगरपालिकामा पटक पटक भनेको छु, २४ शय्याको अस्पतालका लागि यति जनशक्तिले मात्र राम्रो सेवा दिन सम्भव छैन।’

नगर अस्पतालमा भएको विद्युत अभावबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई जानकारी लिँदा अस्पतालमा प्रयोग भएको जेनेरेटर वाइन उद्योगमा प्रयोग भइरहेको बताए। उनले अस्पतालको समस्या समाधानका लागि अर्को जेनेरेटर ल्याउन पहल गरिएको प्रतिक्रिया दिए। ‘वाइन उद्योगमा पनि विद्युत नहुँदा काममा समस्या भएपछि अस्पतालको जेनेरेटर वाइन उद्योगमा लगिएको हो,’ उनले भने, ‘अस्पतालमा पनि विद्युतको समस्या हुन नदिन १०० केभीको जेनेरेटर खरिद गरिसकिएको छ।’

नगरपालिकाले गत असोज ११ देखी नगर अस्पताल सञ्चालन गरेको हो। साविक आठविसकोट स्वास्थ्य चौकीलाई नगरपालिकाले नगर अस्पतालको रुपमा स्तरोन्नति गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.