|

नवलपरासी : बाढीमा बगेर भारत पुगेका गैंडा भारतको बिहारको जंगलमा अलपत्र अवस्थामा रहेका छन्। २०७४ सालको बाढीमा चितवन राष्ट्रिय निकुञ्जबाट नारायणी नदीले बगाएर भारत पुर्‍याएका गैंडा नेपाल ल्याउन प्रयास भए पनि भारतीय पक्षको अवरोधका कारण ल्याउन सकिएको छैन। 

चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा लिनका लागि भारतमा पुगेको हात्तीसहितको टोलीलाई भारतीय सीमा सुरक्षाा बल एसएसबी र वन कर्मचारीहरुले विभिन्न वहाना बनाउँदै फर्काइदिने गरेका छन्। भारतीय वन कर्मचारीले कहिले अनुमति लिएर आउन त कहिले लैजान नमिल्ने बताउने गरेका छन्। 

भारतले नेपालदेखि बाढीमा बग्दै गएका गैंडा आफ्नो वन क्षेत्रमा आएपछि त्यसको रेखदेखका लागि ६ जना कर्मचारी थपेको सुस्ता बचाउ अभियानका आदम खाँले बताए। भारत पुगेका तीन वटा गैंडामध्ये दुई वटा गैंडा बिहारको सिर्सिया जंगलमा रहेको र एउटा सुस्ता नजिकैको भारततर्फको जंगलमा रहेको स्थानीयले बताएका छन्।

गैंडाहरु भारत र नेपालबीच विवादित क्षेत्रअन्तर्गतको रहुवा घोलामा आउने गरेका छन्। घोलमा आएको समयमा नेपालीहरुले गैंडालाई नेपालतर्फ पठाउन खोजे पनि भारतीय वन कर्मचारीहरुले आफ्नो वन क्षेत्रतर्फ पठाउने गरेको स्थानीयको भनाइ छ। 

गैंडा फर्काउन चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा तीन वटा हात्तीसहितको टोली सुस्ता पुगी भारतीय वन  कर्मचारीहरुसँग पहल गर्दा केन्द्रबाट स्वीकृति लिएर आउनु भनेको स्थानीय रविन्द्र बानियाले बताए। 

हात्तीसहितको टोली अहिले सुस्तामै रहेको छ। चितवनबाट अनुगमनका लागि टोली मंगलबारनै सुस्ता आउने बताइएको छ। टोली आएर थप अध्ययन गरेपछि गैंडा फर्काउनका लागि पहल गरिनेछ। गैंडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र प्रहरी खटिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.