दिवाभोजमा ३६ व्यञ्जन

|

जनकपुरधाम : रामजानकी विवाह महोत्सवमा सहभागी हुन बुधबार भारतको अयोध्याबाट आउन लागेका  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भव्य स्वागतको तयारी गरिएको छ।

आदित्यनाथ भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ। प्रदेश २ का डीआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिरमा पूजा गर्न आउनेछन्।

त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भएपछि उनी विवाहपञ्चमी महोत्सव बाह्रबिघा मैदानमा आयोजना हुने स्वयंवरमा सहभागी हुनेछन्। विवाह पञ्चमीमा सहभागी भई अादित्यनाथ सोझै विमानस्थल पुगेर लखनऊ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको डीआईजी पालले जनाए।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले आयोजना गर्ने दिवा भोजका क्रममा अादित्यनाथले प्रदेशका नेताहरूसँग सामूहिक भेटघाट हुने कार्यक्रम छ। मुख्यमन्त्रीको सम्मानमा आयोजित दिवाभोजमा ३६ व्यञ्जन राखिने भएको प्रदेश सरकारले जनाएको छ। दिवाभोज (भण्डारा)मा भारतबाट जन्ती भएर आउने साधुसन्त, राजनीतिक, सामाजिक क्षेत्रका अगुवाहरू पनि सहभागी हुनेछन्।

मुख्यमन्त्री योगी आदित्यनाथको धार्मिक भ्रमणलाई दिएर जानकी मन्दिर, बाह्रबिघा, प्रदेश सचिवालय रहेको मधेश भवन लगायत नगरका विभिन्न स्थानमा स्वागतद्वार  बनाइएका छन्। सफाइमा नेपाली सेना, प्रहरी, स्थानीय तहका प्रतिनिधि लगायत सफाइ अभियन्ता जुटेका छन्।

यसरी विवाहपञ्चमी र मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाल प्रहरीका झण्डै तीन हजार ५ सय र सशस्त्र प्रहरीका एक हजार पाँच सय गरी पाँच हजार सुरक्षकर्मी परिचालन गरिने भएको छ। योगी आदित्यनाथलाई तीन तहको घेरामा सुरक्षा दिइने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। नेपाली सुरक्षाकर्मी बाहेक योगी आदित्यनाथका केही विशेष सुरक्षा दस्तासमेत भारतबाटै आउने भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.