|

बाल्यकालका जति रंगीन अनि स्वादिला दिन जीवनमा कहिल्यै फर्क‌ंदैन, हरेकको जीवनमा। बाँचिसकेको त्यो जीवनलाई कल्पनामा पनि त्यति मिठासपूर्ण तरिकाले अब कोर्न सकिँदैन। शब्दमा सजाउन सकिँदैन। न त मीठा सपनीले नै ती दिनलाई भुलाउन सक्छन्। जीवनको वास्तविकता त त्यहाँ पो हुँदोरहेछ, जहाँ कहिल्यै फर्कन सकिँदैन- बस्, ती दिन सम्झेर रोमान्चित बन्नु शिवाय।

पाँच पैसासँगको अगाध मोह, ल्यासे पाउँले फट्कारेको जिब्रो। स्कुलमा गरेका उट्पट्याङ अनि उफ्फ्! मास्टरको कुटाइ। कर्के नजरले कसैलाई जिस्काउँदा दुवैलाई लागेका काउकुती। हैट्! अहिले सम्झँदा पनि प्यारा लाग्छन्।

रेडियो नेपालमा हरेक शनिबार बज्ने रेडियो नाटक अनि रेडियोमै बज्ने बाल कार्यक्रम सुनेर रमाएर हुर्केका हामी। अहिले अस्तित्वमा रहेका प्रविधिहरू सायद त्यसबेला हलिउडका काल्पनिक चलचित्रका लेखकको कल्पनामा समेत घुसिसकेका थिएनन्। भर्चुअल संसारका काल्पनिक खेलभन्दा आफ्नै प्यारा खेलहरू खेलेर असिनपसिन हुने समयका हामी। दिदीबहिनीहरूसँगै गिट्टी र भुइँकासामा रमाएका हामी। अहिलेका युवा पुस्ताले कुनै प्राचीनकालको कथामा बनेको चलचित्रमा देख्ने दृश्यलाई देखेर केही हदसम्म प्रत्यक्ष भागेका हामी।

काठमाडौंमा सिनेमा हेर्ने मात्र तीनवटा हल थिए- विश्वज्योति, जयनेपाल र रञ्जना। भाग्यले साथ दिएका दिन कहिलेकाहीँ ती हलहरूमा पनि सिनेमा हेरिएको थियो। के हेरियो, कस्तो हेरियो खै? अहिले सम्झनाबाहिर गइसके। टेलिफोन पनि सहज थिएन। सन् १९८० को दशकको सुरुवाततिर मेरा बाबा आइएमएफको तालिमका लागि अमेरिका गएको बेला ट्रंकल गर्न अघिल्लो दिन नै समय लिएर भोलिपल्ट बिहानै त्रिपुरेश्वर गएर कुरा गरेको हिजो जस्तो लाग्छ। नत्र हुलाकमार्फत् चिठी पठाउनुको विकल्प थिएन। मेरी आमाले ती बेला बाबा र हामीबीच आदान प्रदान भएका चिठीका मुठ्ठा सँगालेर राखेकी थिइन्। त्यति प्यारा लाग्दा रहेछन् ती दिनका याद। पछिसम्म ती चिठी पढ्दा आनन्द आउँथ्यो। अहिले त खै कता छ। अहिले त जिमेलले स्टोर गरेर राखिदिन्छ।

सिनेमाकै सन्दर्भमा, बाबा नेपाल राष्ट्र बैंकको बैंकिङ प्रवर्द्धन विभागमा कार्यरत थिए। उनका कामहरूमा नेपालभर बैंकिङ सेवा र नेपाली मुद्राप्रति जनचेतना जगाउनु पनि थियो। १०-१५ मिनेटको प्रवर्द्धनात्मक कार्यक्रम बनाउन बम्बईसम्म पुग्थे, उनी- नेपालमै प्रविधिको अभावमा। त्यसैले चलचित्रकर्मीसँग बाक्लै उठबस् हुन्थ्यो। तर मैले कसैलाई चिनिनँ वा बाल मस्तिष्कमा ‘स्टोर’ गर्न लायक सम्झना उनिएन, उनीहरूका साथ। बाबा त्यही डकुमेन्ट्री देखाउन लावालस्करसहित प्रोजेक्टर र ठूलाठूला रिलसहितको चक्का बोकाएर विभिन्न ठाउँ जाने गर्थे। एक दुई पटक मैले पनि जाने मौका पाएको थिएँ। नत्र बुढाबुढी जान्थे, हामी सन्तानलाई आधा दर्जनमध्ये कुनै एक मावलीघरको पाहुना बनाएर।

अहिले मोबाइल र मल्टिप्लेक्समा चम्किएको चलचित्रको संसार त्यसबेला इस्टमेन कलरको सेलुलाइड रिलमा बन्द हुन्थ्यो। ठूला प्रोजेक्टरले टाढा झुन्ड्याइएको पर्दामा ती डकुमेन्ट्री देखाइन्थ्यो। रात परेपछि देखाइने त्यस्ता डकुमेन्ट्री हेर्नेको संख्या पनि बाक्लै हुन्थ्यो। मनोरञ्जनको साधनको अभावकै कारण हुनसक्छ, पट्यारलाग्दा त्यस्ता डकुमेन्ट्री हेर्न पनि लावालस्करसहित गाउँगाउँबाट मानिसहरू आउँथे। हेरिसकेपछि केही बुझे कि बुझेनन्, कसलाई वास्ता! काठमाडौं लगिएकै जीपमा दिनभर प्रदर्शनको प्रवर्द्धन गर्न माइकिङ गरिन्थ्यो अनि बेलुका त्यही गाडीमै प्रोजेक्टर राखेर डकुमेन्ट्री देखाइन्थ्यो। मेरो बाल मस्तिष्कका आधारमा भन्ने हो भने नेपालमा बैंकप्रति जनचेतना विस्तारका काम यसरी भएका थिए। 

त्यो प्रोजेक्टर जसले भाडामा दिन्थे, उनले सुविधा स्वरूप विश्वज्योति हलमा चलिसकेका एकाध चलचित्रका रिल ल्याएर हाम्रो घरमा पनि कहिलेकाहीँ देखाइदिन्थे- प्रोजेक्टरसहित। त्यही कार्यमा हिँडिरहनुपर्ने भएर होला, कतिपय समय त्यो प्रोजेक्टरको बास नै हाम्रो घरमा हुन्थ्यो। त्यसैले सिनेमा हेर्ने त्यो लुफ्त भने उठाइयो। सायद कमै भाग्यमानीले त्यो मौका पाए होलान्। त्यसपछि भिसीआर र भिसिपीको जमाना नआउँदासम्म घरमा कुनै चलचित्र हेरिएन।

घुमफिरले सिकाउँछ हाम्रो मुलुकका कतिपय स्थान त अहिले पनि हामीले बालापनमा देखेका केही सीमित नेपालभन्दा पनि धेरै पछाडि रहेछन्। तीतो यथार्थलाई स्वीकार्नै पर्छ। परिवर्तन कहाँ आयो? काठमाडौंमा? या नारायणगढ जस्ता एकाध शहरमा? नेपालको सुदूर भाग त अहिले पनि ‘डाइरिया’बाट मर्छ नै।

अलिक बुझ्ने भएपछि नागढुंगा पहिलो पटक काट्दाताका नारायणी नदीमा पुल बन्ने तरखर भइरहेको थियो। आफन्तको ब्रतबन्धमा केही दिन नारायणगढ बसियो। काठमाडौंमा बस्दा ममको स्वाद जिब्रोमा टँसाएका हामीलाई त्यसबेला नारायणगढमा ममको कम प्रचलनले केही गाह्रो पार्थ्यो तर थिए, एक दुईटा मम पसल, खाने मौका छोडिएन। पश्चिम जाने बस र यात्रु नारायणी नदीमा डुंगाबाट पार हुन्थे। हेर्दा रमाइलो लाग्थ्यो। नारायणगढमा अहिले जस्तो भीडभाड थिएन। अहिले त्यही नारायणगढको बद्लिएको स्वरूपले त्यहाँ पुग्दा सधैँ एक रोमान्चकता दिन्छ र विकासप्रति आश्वस्त गराउँछ। विकासमा बाटोघाटोको कति महत्त्व छ भन्ने प्रष्ट उदाहरण बनेर ठडिएको छ- अहिले त्यो शहर।

त्यो जाडोको छुट्टीको समय थियो, मीनपचासको बिदा। त्यो बिदालाई किन मीनपचास भनियो? कहिल्यै मतलब भएन, बस्, त्यसबेला पढ्न नपर्ने र मस्ती मार्ने बिदाका रूपमा लिन्थ्यौँ हामी। किनकि त्यही बिदापछि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो। त्यसबेला हाम्रो काम अल इन्डिया रेडियोबाट आउने बिनाका गीतमालामा बज्ने गीतहरूलाई घरमा भएको क्यासेट प्लेयरमा रेकर्ड गर्ने अनि दोहोर्‍याई तेहेर्‍याई सुनेरै आनन्द पनि लिइन्थ्यो। हाम्रो मनोरञ्जनभित्रको एकअर्को पाटो थियो त्यो। त्यसैले हामी त्यो युगका बासिन्दा पनि हौँ, जसले रिल भएको अडियो क्यासेट पनि प्रयोग गर्‍यो। जब क्यासेट प्लेयरले रिल तानेर चुँडाउनुपर्थ्यो, दिक्क लाग्थ्यो। तर पानी टेपले टाँस्ने कला पनि जानिएकै थियो। 

हामीले टिभीका बारेमा सुनेका थियौँ तर त्यो कस्तो ‘जन्तु’ हो भन्ने थाहा थिएन। एक पटक ममीलाई स्त्रीरोग विशेषज्ञ सावित्री पाध्याकहाँ लगेर जचाउने क्रममा छिमेकीले कुनै भाँडोमा चलचित्र हेरिरहेका थिए। बुझे पनि नबुझेपनि केही बेर झ्यालको प्वालबाट मैले पनि हेरेँ। त्यही वस्तु टेलिभिजन सेट रहेछ भन्ने धेरै पछि थाहा पाएँ। जब दूरदर्शनको लहर सुरु भयो, त्यसपछि हुनेखानेले टिभी किन्न थाले। एन्टेना घुमाउँदै स्क्रिनभरी झिँगा उर्लेर टाँसिएझैँ ‘क्वालिटी’मा ‘दो आँखे बारह हात’ जस्ता हिन्दी चलचित्रका साथै ‘चित्रहार’ हेर्ने मौकाको फाइदा भने बेलाबेलामा उठाइएकै थियो- आफन्तको घरमा।

नेपाल टेलिभिजन र हाम्रो घरमा टिभी सेटको गृह प्रवेश भने लगभग उही समयमा भएको थियो। घरमा पहिलो पटक नै रंगीन टेलिभिजन भित्र्याउने केही भाग्यमानीमध्ये हामी पनि थियौँ। नत्र धेरैले बैठक कोठामा ब्ल्याक एन्ड ह्वाइट सेट सजाइएरै टिभी सेटलाई गृह प्रवेश गराएका हुन्थे। टिभी सेट र भिसिआरबाट चलचित्र देखाएर धेरैले आफ्नो घरजम पनि चलाएका थिए, त्यसबेला। एउटा फिल्म हेरेको पाँच रुपैयाँ तिर्नुपर्थ्यो। घरमा भिसिआर नभित्रिँदासम्म हामीले पनि प्रशस्तै हेर्‍यौँ- पाँच रुपैयाँ तिरेर सुकुलमा बसेर, फिल्महरू। कहिले चाबहिल, कहिले बौद्ध त कहिले मखनसम्म पुगेर।

अब फेरि त्यही मीनपचासको बिदाको सन्दर्भ। त्यही बिदाको सदुपयोग गर्ने क्रममा नारायणगढपछि हामी परिवार जनकपुर पुग्यौँ। बाबाकै परममित्र राष्ट्र बैंकका मेनेजर थिए। त्यसबेला राष्ट्र बैंक भनेपछि रवाफ नै बेग्लै हुँदोरहेछ। सारा बैंकका हर्ताकर्ताहरूको जमघट चल्थ्यो, राष्ट्र बैंकको क्वार्टरमा। हामीलाई त्यस्ता कुरामा केको मतलब? घुम्नका लागि मेनेजरको खटनपटनमा गाडी पनि। बरु जनकपुरमा त्यसबेला देखिएको टेलिफोनले भने अचम्ममा पारेको थियो। सेटमा कुनै नम्बरको बटम नहुने। लोकल कल गर्नुपर्‍यो भने पनि सेट उठायो अनि अमूक स्थानमा रहेका अपरेटरले सम्बन्धित नम्बर लगाइदिएपछि मात्र कुरा गर्न सकिने। मोबाइल युगमा जन्मिएका पुस्ताका लागि यी कुराहरू अचम्म लाग्दो हो। त्यस्ता रवाफ देखेर मैले पनि धेरै पटक बाबालाई अन्यत्र सरुवा हुन कर गर्न थालेँ, के मान्थे र मेरो कुरो! कहिल्यै बन्न पाइएन- ‘मेनेजरको छोरो।’

समयसँगै नारायणगढले विकासमा जुन फड्को मार्‍यो, जनकपुर त्यहाँमा चुकेको छ कि जस्तो लाग्यो मलाई- पहिल्लो पटक त्यहाँ पुग्दा। समयसँगै आउनुपर्ने विकासले समेत जनकपुरलाई छुन नसकेको हो कि जस्तो लाग्यो। केही अपवादलाई छाड्ने हो भने केही वर्षअघि जनकपुर पुग्दा मैले त्यहाँ विगत र अहिलेको भौतिक तथा आर्थिक विकासमा त्यति तात्त्विक भिन्नता केलाउन सकिनँ बरु थप विनाश भएको हो जस्तो पो लाग्यो। समयसँगै विकास हुन्छ भन्ने मान्यताको घोर विरोधी भएर उभिएको छ कि जनकपुर जस्तो पो लाग्यो।

समय चक्कावाला रिलबाट डिजिटलमा पुगिसक्यो तर जनकपुर जस्ता शहर अहिले पनि रिक्सामै हुँइकिरहेका छन्। घुमफिरले सिकाउँछ हाम्रो मुलुकका कतिपय स्थान त अहिले पनि हामीले बालापनमा देखेका केही सीमित नेपालभन्दा पनि धेरै पछाडि रहेछन्। तीतो यथार्थलाई स्वीकार्नै पर्छ। परिवर्तन कहाँ आयो? काठमाडौंमा? या नारायणगढ जस्ता एकाध शहरमा? नेपालको सुदूर भाग त अहिले पनि ‘डाइरिया’बाट मर्छ नै। उन्नत शहरका केही बालबालिका अंग्रेजी माध्यममा पढ्ने भए होलान्। पढ्नैका लागि अस्ट्रेलिया, अमेरिकामा पहुँच बनाउने भए होलान् तर कुनै भीर नजिकका बासिन्दाहरू आज पनि जीवन गुजार्न ज्यान बाजी थापेर मौरीको मह काढ्न बाध्य छन्- उही पुराना प्रविधिको साथमा। शिक्षा नाम मात्रको छ। हरेक दिन बालविवाह भएकै छन्। 

कहिलेकाहीँ लाग्दो पनि रहेछ। प्रविधिसँगैको विकासले मेरो जीवनमा त केही फरकपन ल्यायो होला तर बहुसंख्यक नेपालीले आज पनि घटीमा त्यही प्राचीन प्रविधिसम्मको पहुँचबिना नै जीवन बिताइरहेका छन्। खाडीको तातो बालुवामा पसिना चुहाइरहेका छोरा वा पिता वा पतिको एक आवाज सुन्न दिनहुँ हिँडेर संचारको पहुँच भएको ठाउँसम्म धाइ नै रहेका छन्। केही व्यक्तिको जीवनमा आएको परिवर्तनलाई विकास मान्ने हो भने हाम्रो देशमा विकास भएको छ। बाँकी, भगवान जानुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.