|

काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको साविकको विजेता विराटनगर वारियर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी- २० क्रिकेटमा सनसनीपूर्ण जीत आत्मासात गरेको छ। लगातार दोस्रो जीत निकाल्ने क्रममा विराटनगर सुपर ओभरमा भाग्यमानी सावित भएको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा केली कोएट्जरको कप्तानीमा रहेको पोखरालाई पराजित गर्‍यो। लो स्कोरिङ खेलमा पो जीत निकाल्न पोखरालाई निकै संघर्ष गर्नुपरेको थियो। पोखराले दिएको ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा विराटनगरले २० रन जोड्दै २१ रनको लक्ष्य दिएको थियो। विराटनगरका लागि करण केसीले २० रन जोडे। जवाफमा पोखराले १३ रन बनाउन सक्यो।

सुपर ओभरमा जानुअघि खराब सुरुवात गर्दै दुई ओभरमै २ विकेट गुमाएको विराटनगरका लागि आसिफ शेखले १९ तथा करण केसीले १५ रन जोडे। यस्तै, रोविन क्षेत्री र हरि चौहानले समान १२/१२ रन जोड्दा भान डेर मेर्वीले ११ रन जोडे। कप्तान पारस मात्र १ रनमा आउट भए।

पोखराका विपीन खत्रीले ३ तथा सुसन भारी, विक्रम सोब र पाउल कलिनले समान २/२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ८४ रन बनाएको थियो। विदेशी ब्याट्सम्यान चल्न नसक्दा विराटनगरविरुद्ध पोखराले उच्च स्कोर बनाउन सकेन। खराब सुरुवात गरेको पोखराले मात्र १९ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाएको थियो। सुरुवाती दुई खेलमा अर्धशतकीय इनिङ्स खेलेका रिचर्ड लेभी मात्र ३ रनमा आउट भए। यस्तै, कप्तान कोएट्जर ४ रनमा आउट भए।

पोखराका लागि पाउल कलिनले सर्वाधिक २० रन जोडे। राजेश पुलामी मगरले १७ रन जोडे। विराटनगरका पाउल भान मिकेरिनले ३ तथा भान डेर मेर्वीले २ विकेट लिए। जीतसँगै विराटनगरले २ खेलबाट ४ अंक जोडेको छ र विराटनगरले दोस्रो चरण पुग्ने संभावना बलियो बनाएको छ। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गरेको थियो।

पोखराको भने यो लगातार तेस्रो हार हो। तेस्रो हारसँगै पोखराको अर्को चरणको यात्रा कमजोर बनेको छ। पोखराको अर्को चरणको गणितीय संभावना बाँकी रहेको छ। पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.