सचिवसँग लफडा

|

काठमाडौं : जनताको सेवासँग प्रत्यक्ष जोडिएको सरकारी संस्था हो- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। जनताको सामान्य स्वास्थ्य सेवादेखि जटिल प्रकारका स्वास्थ्य सेवामा यस मन्त्रालयको सेवाले प्रभाव पारिरहेको हुन्छ।

त्यसैले स्वास्थ्य मन्त्रालयको कुनै एउटा शाखाको कामकाजमा कमजोरी देखियो भने त्यसको प्रत्यक्ष असर तत्कालै जनताले पाउने स्वास्थ्य सेवामा देखिन थाल्छ। यस कारण स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई जनताले गम्भीर तरिकाले हेरिरहेका हुन्छन्।

अझ अहिले देश संघीयतामा गइसकेको छ, जसले गर्दा एकातिर जनताले पाउने दैनिक स्वास्थ्य सेवा सुविधा गुणस्तरीय बनाउनु छँदै छ भने अर्कोतिर संघीयतामा स्वास्थ्य सेवाको संरचना तथा कर्मचारीहरूको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ।

अहिले संघीयताको राम्रोसँग कार्यान्वयन गर्नुपर्ने अडानमा रहेको पार्टी समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन्। अझ स्वास्थ्य मन्त्रालयकै इतिहासमा शक्तिशाली उप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालय यादवले सम्हालेका छन्।

गत जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री यादवले सम्हालेपछि स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा गरिएको थियो। तर स्थायी सरकारका शक्तिशाली स्वास्थ्यमन्त्री तथा राज्यमन्त्री पनि स्वास्थ्य क्षेत्रकै भएकाले धेरैले स्वास्थ्य क्षेत्रको सुधारको अपेक्षा गरे पनि त्यसअनुसार हुन सकेको छैन।

धेरै विदेश भ्रमणमै

यादवले मन्त्रालय सम्हालेको छ महिना बितिसकेको छ। यस अवधिमा उनले केही कर्मचारीको सरुवा गर्नुबाहेक अन्य केही काम गरेको देखिँदैन। तर छ महिनाको बीचमा उनले विदेश भ्रमण भने धेरै गरे। यस अवधिमा स्वास्थ्यसम्बन्धी कार्यक्रम भन्दै मन्त्री यादव अमेरिका, थाइल्यान्ड, भियतनाम, बेलायत, स्वीट्जरल्यान्ड, भारत र कतार पुगिसकेका छन्।  मंगलबारमात्रै मन्त्री यादव पार्टनरसीप फोरमसम्बन्धी स्वास्थ्य कार्यक्रमका लागि मन्त्रालयको केही प्रतिनिधि लिएर दिल्ली उडेका छन्। मंगलबार दिल्ली उडेका मन्त्री यादव अब १४ तारिखमा मात्र फर्किनै उनको सचिवालयले बताएको छ।

यतिबेला संघदेखि स्थानीय तहसम्मका स्वास्थ्यका संस्थाहरूमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने तथा पहिलेदेखि नै संचालन हुँदै आएका स्वास्थ्यका राष्ट्रिय कार्यक्रमहरूलाई स्थानीय तहमा मिलाउनुपर्ने तथा नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने अवस्था छ। तर यस्ता कामहरूमा मन्त्रीले खासै चासो नदिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। मन्त्रालयका एक कार्मचारीले भने, 'विदेशी संघसंस्थाले बोलाउने कार्यक्रम प्राय: मन्त्रीस्तरकै हुन्छ तर त्यस्ता कार्यक्रमहरूको महत्त्वलाई हेरेर मन्त्रीज्यूले आफ्नो भ्रमण तय गर्नुपर्ने हो। कतिपय कार्यक्रममा उहाँ नजाँदा पनि फरक पर्दैन।'

हाल मन्त्रालयमा १० जना भन्दा बढी ११औँ तहका र अन्य धेरै कर्मचारीहरू फजिलमा छन्। यस्तो बेलामा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, संघीयता कार्यान्वनयमा स्वास्थ्य क्षेत्रमा आएका जटिलताले पार्ने समस्याको समाधान गर्नुपर्ने मन्त्रीको जिम्मेवारी धेरै देखिन्छ तर यसमा मन्त्री खासै जिम्मेवार भएका देखिँदैन। 

सचिवसँग लफडा

छ महिनाअघि स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा यादव आएपछि मन्त्रालयको सेवा सुविधामा सुधार आउने अपेक्षा गरिएको थियो। अझै मन्त्री र सचिव एउटै क्षेत्रका भएकाले पनि उनीहरूको काममा तालमेल मिलेर मन्त्रालयको सेवा राम्रो हुने अपेक्षा गरेका थिए तर मन्त्री यादवले मन्त्रालय सम्हालेको केही समयमा नै सचिव चौधरीको कामप्रति मन्त्री यादव असतुष्ट भए।

मन्त्रीले तोक लगाउन दिएको फाइल लुकाउने तथा काममा ढिलासुस्ती गर्ने गरेको हुनाले उनको रवैयाप्रति मन्त्री खुसी थिएनन्। डा. चौधरीलाई सचिवबाट हटाउन अघि सरे यादव र डा. पुष्पा चौधरीलाई असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो। १२औँ तहका प्रमुख विशेषज्ञ चिकित्सक डा. सुशीलनाथ प्याकुरेललाई सम्पूर्ण अधिकारसहितको निमित्त सचिवको जिम्मेवारी दिइयो।

तर सरकारले आइतबार प्रधानमन्त्री कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गर्‍यो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या सचिवले आजै मन्त्रालय पुगेर आफ्नो पदभार सम्हालिसकेका छन्।

गत असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। डा. चौधरीले आफूलाई अन्याय गरेर सरुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले डा. चौधरीले दायर गरेको रिटमा मन्त्रिपरिषद्‍को २०७५-६-२८ को निर्णय, सोही मितिको सरुवा र रमानालगायतका पत्रहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको छ। उक्त आदेशपछि कात्तिक २० गतेसम्म  मन्त्रालय पुगेर काम गरेकी डा. चौधरी त्यसयता भने आफू कामविहीन भए पनि मन्त्रालयनै जाने गरेकी थिइन् तर आइतबार मात्र सरकारले नयाँ स्वास्थ्य सचिव नियुक्त गरे पनि उनी अझै मन्त्रालयमै गएर हाजिर गरेर फर्किने गरेकी छन्।

नयाँ सचिवप्रति चिकित्सकहरूको विरोध

डा. चौधरीलाई हटाएपछि निमित्त सचिवको रूपमा काम चलिरहेको अवस्थामा प्रशासन क्षेत्रको व्यक्तिलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको भन्दै हाल चिकित्सकहरूले आन्दोलन गर्दै आएका छन्। चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ नेपालले विज्ञप्ति नै जारी गर्दै गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिव नियुक्त गरेको भन्दै सचिवलाई फिर्ता नगरे कडा अन्दोलन गर्ने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.