विचार

चुनौती र अवसरका माझ अन्तर्राष्ट्रिय पर्वत दिवस

मंसिर २५, २०७५

    प्रत्येक वर्ष ११ डिसेम्बरको दिनलाई संयुक्त राष्ट्रसंघले पर्वत दिवसको रूपमा मनाउने गर्छ। सन् २००३ बाट सुरु भएको यो दिन पर्वतमा दिगो विकास कसरी गर्न सकिन्छ? भन्नेबारेमा विश्वव्यापी सोच निर्माण गरिन्छ। 

    पर्वत भनेको समुद्र सतहबाट ३०० मिटरदेखि आठ हजार ८४८ मिटरसम्म फैलिएको उच्च, भिरालो, हरियालीयुक्त, माटो, ढुंगा तथा विभिन्न जनावरको अवशेषबाट बनेको जैविक विविधताले भरिएको विशेषगरी समशीतोष्ण, शीतोष्ण र हिमबेष्ठित भूभाग हो। 

    यस्तो पर्वतमा अहिले विश्वका एक अर्ब बढी मानिसहरू बसोबास गर्छन्। नेपालको एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरको क्षेत्रफलमध्ये ६८ प्रतिशत पहाड र १५ प्रतिशत हिमाल गरी ८५ प्रतिशत भूभाग पर्वतले घेरिएको छ। यहाँ रमाइला प्राकृतिक दृश्य र सौन्दर्य छन्, स्वच्छता छ, अप्रदूषित र आर्सेनिकमुक्त जलप्रवाह हुन्छ। युगौँदेखि अर्गानिक मौलिकता छ यहाँ। निःसन्देह केही उचाइ र बढीमा चार किलोमिटरजतिको समथरतापछि फेरि भिरालो या उकालो भेटिन्छ यहाँ। 

    जे होस्, उकाली ओराली, भञ्ज्याङ, चौतारी, केही भित्री खेतहरू, केही उचाइका बारीहरू, कमजोर काठका घना जंगलहरू, पूरा गुण पत्ता लगाउन नसकिएका अनगिन्ती जडिबुटीका साथै सेताम्य हिमालसहितको नाम पर्वत हो। यसैले त जापानले सरकारले सन् २०१४ मा २०१६ देखि ११ अगस्तका दिन पर्वत दिवसका रूपमा मनाउने र त्यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको यो दिवसको नारा पर्वतका पदार्थ अर्थात् माउन्टेन म्याटर्स निर्धारण गरेको छ।

    पहाडमा रमाइलो छ, शीतलता छ तर जीवन समथर जमिनको भन्दा कठिन छ। पहिरो जानु, मोटर तथा सवारी साधन गुडाउन कठिन हुनु, बस्ती पातलो हुनु, खरिदका उपभोग्य समानमा छनोटको सुविधा नहुनु, पर्वतको जीवन कठिनाइका कारक तत्त्वहरू हुन्। यसले गर्दा शिक्षा स्वास्थ्यमा पनि कठिनाइ उत्पन्न हुन जान्छ। पर्वको जीवन पुग्नका लागि कठिन भए पनि त्यही बस्नाका लागि कठिन हुने थिएन तर समग्र राष्ट्रिय परनिर्भरताको प्रभाव पर्वतमा पनि पर्छ। किनकि जीवन निर्वाहका हरेक सामानको ढुवानी गर्नुपर्ने बाध्यता छ। यसले महँगी बढाउँछ। त्यसैले आत्मनिर्भर पर्वतीय जीवन प्रणाली आजको परिवेशमा अतिआवश्यक छ। यसको आवश्यकता अन्य देशका तुलनामा नेपालमा बढी छ। त्यसैले पर्वत सुहाँउदो अर्थतन्त्र, पर्वत सुहाउँदो पर्यटन, पर्वतअनुकूल कृषि उत्पादनका लागि जे जस्तो नीति, रणनीति र कार्यनीति आवश्यक पर्छ, नेपालले त्यसमा ध्यान दिन जरुरी छ। 

    विश्वले पनि यदि ग्लोबल वार्मिङ न्यूनीकरण गर्ने हो भने नेपाल जस्ता पर्वतीय अधिपति देशलाई पर्वतीय दिगो विकासमा टेवा पुग्नेगरी सहयोग बढाउन आवश्यक छ। चीन र भारत, जहाँका ठूला शहरमा दिनभर स्वास लिनु भनेको दिनमा एक दर्जन चुरोट पिए बराबरको धुवाँ पान गर्नु हो। ती देशले पनि नेपालको आर्थिक उत्थानका लागि आफ्ना पर्यटकलाई नेपाल आउन जोड दिन जरुरी छ।

    विभिन्न पंक्षीको चिरबिरको माझमा विश्वको ८० प्रतिशत पिउनयोग्य पानीको स्रोत पर्वत हो र हिमालको हिउँ पनि हो  तापनि ग्लोबल वार्मिङको कारणले बितेको दशकमा मात्र ६०० हिमनदी तथा हिमपोखरीहरू सदाका लागि विलुप्त भइसकेका छन्। त्यसैले जल, जमिन,  पर्यटन, केही खाद्यान्नलगायत, जैविक विविधताको प्रमुख आधार पर्वतलाई सबैतिरबाट विकासको मूल प्रवाहमा ल्याउन नसके त्यहाँबाट भइरहेको युवा पलायनले ठूलो समस्या सिर्जना गर्न सक्ने भएकाले, पर्वतमा थप रौनकता, थप आर्थिक विकासका संभावना र थप पर्यटक आगमनको केन्द्रका रूपमा विकसित गर्ने आवश्यकता विश्वव्यापी रूपमा प्रबल  हुँदै गएको छ। 

    यति हुँदाहुँदै पनि दिगो विकाससम्बन्धी अवधारणा एजेण्डा २०३० ले मानव, ग्रह, समृद्धि, शान्ति, साझेदारी जस्ता मुद्दालाई प्राथमिकतामा राखे पनि पर्वत विकासको विषयलाई छुटाएको छ। त्यसैले विश्वको वातावरणीय सुन्दरता कायम राख्नका लागि, हाम्रा पर्वतहरू, पहाडहरूलाई कुनै पनि तरिकाको अतिक्रमणबाट बचाउनका लागि युवाहरूमा थप पर्वतीय सोच जागृत गराउन जरुरी छ। एजेण्डा २०३० लाई संशोधन गर्न आवश्यक देखिन्छ।

    विश्वका पर्वत शृंखलाहरूमध्ये सबैभन्दा धेरै पर्वतहरू र पर्वत शृंखला नेपालमा रहेका छन्। आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल नोपलमा छन्। पाकिस्तानमा रहेको के टु दोस्रो अग्लो हिमाललाई छाडेर बाँकी अग्ला पर्वतहरू नेपालमै अवस्थित छन्। त्यसैले पर्वतको संरक्षण, सम्बद्र्धन र थप व्यवस्थित र सहज बनाउनु नेपालका साथै सबैका लागि ज्यादै महत्त्वको विषय हो। आलु, फापर, कोदो, स्याउ जस्ता महत्त्वपूर्ण खाद्यान्न पर्वतमा उत्पादन हुन्छ। विश्वमा लगभग २० प्रतिशत पर्यटकहरू पर्वतको आकर्षणका कारणले विश्व भ्रमण गर्छन्। त्यसैले पर्वतलाई हरेक तरिकाले आकर्षणको केन्द्र बनाउनुका साथै यसलाई सदा सदाका लागि टिकाउन जरुरी छ।

    पर्वतलाई शिक्षा, स्वास्थ्य सेवाबाट वंचित नगराई, आधुनिक प्रविधिको प्रयोगबाट यहाँ जीवनलनई सहज र समृद्ध बनाउनु आजको आवश्यकता हो। विश्वको २८ प्रतिशत जंगल अहिले पनि पहाड, पर्वतमा रहेको छ। जैविक विविधताको २५ प्रतिशत अंश यही क्षेत्रमा रहेको कुरा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    यहाँको पानी, विशेषगरी सेता हिमालबाट निस्किएको पानी गौरवको रूपमा विश्व बजारमा पुर्‍याउन सक्ने हो भने पर्वतीय जीवन थप आकर्षक र सहज हुने थियो। यसैगरी पर्वतीय पर्यावरणमा कुनै प्रकारको प्रभाव नपर्ने गरी त्यहाँको मौलिकपनमा असर नपर्ने गरी  साहसिक पर्यटन, हिमपर्यटनका लागि विभिन्न प्रकारका आकर्षक बस्तीहरू, पहाड घुम्ने जमिनी पुलहरू बनाएर पर्यटकलाई घुमाउन सक्ने हो भने पर्वतमा आम्दानीका स्रोतहरू बढ्दै जाने र पर्यटकको संख्या बढ्दै जाने थियो।

    पर्वतलाई शिक्षा, स्वास्थ्य सेवाबाट वंचित नगराई, आधुनिक प्रविधिको प्रयोगबाट यहाँ जीवनलनई सहज र समृद्ध बनाउनु आजको आवश्यकता हो। विश्वको २८ प्रतिशत जंगल अहिले पनि पहाड, पर्वतमा रहेको छ। जैविक विविधताको २५ प्रतिशत अंश यही क्षेत्रमा रहेको कुरा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्वको कूल भूभागको २२ प्रतिशत अंश ओगटेको पर्वतीय क्षेत्रलाई समग्र मानवमैत्री बनाई ग्लोबल वार्मिङलाई न्यून पार्नु आजको जल्दोबल्दो आवश्यकता हो भन्ने कुरा पोल्याण्डमा २ डिसेम्बरबाट  भइरहेको जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा छलफल भइरहेको छ। 

    पर्वत संरक्षणको जिम्मेवारी हरेक नागरिक, सरकार तथा विभिन्न विश्वस्तरीय संस्थाहरूको हो। किनकि पर्वत तथा पहाडको  वातावरण संरक्षण गर्न सकिएन भने मानव सभ्यता नै खतरामा पर्न सक्नेछ। पर्वतको गहना भन्नाले हिउँ, हिमरेखा, हिमनदी, तालतलैयाहरू, जडिबुटीका बुट्यानहरू, जंगलहरू आदि पर्छन्। यी सबैलाई बचाउनका लागि पर्वत संरक्षण र यसको मौलिकता संरक्षण अतिआवश्यक छ। त्यसैले पर्वतमा अनावश्यक प्रदूषण हुन नदिन र स्वच्छ अक्सिजनको मुहान र पेयजलको मुहानको रूपमा यसलाई बचाउन नेपाल, पाकिस्तान, अफगानिस्तान जस्ता पहाडी मुलुकलाई थप आर्थिक तथा दिगो विकासमा सहयोग आवश्यक छ। 

    विश्वको उचाइको एक मात्र धरोहर, सगरमाथा, कंचनजंघाको भूमिलाई सदा उच्च, अप्रदूषित राख्ने साझा जिम्मेवारीबाट विश्व बिमुख हुन मिल्दैन। विश्को टाउको नेपालमा छ।  टाउकोको समृद्धिले नै विश्वले सम्पन्नताको दैलो उघार्नेछ।

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]