सरकार छ भन्ने महसुस गराऊ : पूर्वअर्थमन्त्री

|

काठमाडौं : प्राय: शेयर बजारका विषयमा नकारात्मक बोल्ने गरेको आरोप खेपेका अर्थमन्त्री डा. युवराज खतिवडा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार अर्थ समितिमा बोलेको विषयलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्। डा. भट्टराईले आफू अर्थमन्त्री हुने समयमा शेयर बजारलाई जुवा घरको संज्ञा दिएका थिए भने खतिवडाले अर्थमन्त्री भएलगत्तै शेयर बजार उत्पादनमूलक नभएको टिप्पणी गरेका थिए। यही शब्दका कारण खतिवडा र डा. भट्टराईलाई शेयर लगानीकर्ताले मनपराउँदैनन्।

अर्थ समिति बैठकमा डा. भट्टराईले घटेको बजारलाई सुधार ल्याउने गरी काम गर्नका लागिसमेत अर्थ मन्त्रालयलाई आग्रह गरे। 'अहिले पुँजी संचयको आवश्‍यकता हो, शेयर बजारमार्फत् लगानी गर्न पाउँदा एक फड्को मार्न सकिन्छ', डा. भट्टराईले भने, 'जोगीसँग भैँसी डराउने, भैँसीसँग जोगी डराउने गर्नुभएन। सरकारले यसका लागि उपयुक्त काम गर्नुपर्छ।' उनले सरकारले बचतकर्तालाई प्रोत्साहन पुग्ने गरी नीति ल्याउनसमेत आग्रह गरे। विज्ञ समूह बनाएर शेयर बजारमा देखिएको समस्या समधान गर्नुपर्ने उनको भनाइ छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनमै शेयर बजारमा देखिएको समस्या समाधान गर्नेगरी काम अघि बढाएको बताए। 'आगामी शुक्रबारसम्म पुँजी बजार र मुद्रा बजारमा देखिएको समस्या पहिल्याई समाधान गरिनेछ', मन्त्री खतिवडाले भने। उनले अहिले पुँजी बजार घट्ने किसिमको अर्थतन्त्र नभएको समेत बताए।

लगानीकर्तालाई प्रोत्साहन गर्दै अर्थमन्त्री खतिवडाले भने, 'पुँजी बजारमा लगानी गर्नेले भविष्यमा पछुताउनुपर्दैन'। उनले लगानीकर्तालाई केही समय लगानी होल्ड गर्न सक्ने गरी लगानी गर्नसमेत आग्रह गरे। 'बैंकबाट पैसा निकालेर लगानी गर्‍यो, १५ दिनमा बैंकले व्याज बढाउँछ भनेर निकाल्ने गरिन्छ। केही समय होल्ड गर्ने गरी लगानी गर्नुपर्‍यो', खतिवडाले भने।

उनले बजेट व्यक्तव्यदेखि नै शेयर बजारमा सरकारले सकारत्मक छ भन्ने सन्देश दिएको समेत दाबी गरे। 'अहिले भ्याटको समस्या छैन, पुँजीगत लाभकरको विषयमा पनि समस्या समाधान गरेका छौँ', खतिवडाले भने, 'शेयर बजारप्रति सरकार सकारात्मक छ।' खतिवडाले अहिले बजारमा धेरै रकमको आवश्‍कयता पर्दा एकातर्फ लगानी हुँदा अर्कोतर्फ समस्या परेको भन्दै समधान गर्नेसमेत बताए। 'हामी लगातार तेस्रो वर्ष उच्च अंकको आर्थिक वृद्धि गर्दै छौँ। अहिले उत्पादनमूलक क्षेत्रमा धेरै लगानी भएको छ। एकातर्फ लगानी गर्दा अर्कोतर्फ प्रभाव पर्ने नै भयो', खतिवडाले भने, 'यो समस्या समाधान गर्नका लागि विदेशबाट ऋण ल्याउन सक्ने सुविधा पनि बैंकलाई दिएका छौँ।'

सरकार छ भन्ने महसुस गराऊ : पूर्वअर्थमन्त्री

'अहिले पुँजी बजार स्वस्थ हुनुपर्थ्यो, लगानीकर्ता उत्साहित हुनुपर्थ्यो तर ठीक उल्टो बजार अस्वस्थ छ, लगानीकर्ता निरुत्साहित छन्', पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने। उनले सरकारकै कारण लगानीकर्ता उत्साहित हुन नसकेको आरोपसमेत लगाए। जिम्मेवार व्यक्तिले शेयर बजारमा निरुत्साहित हुनेगरी वक्तव्य दिएर बजार घटाएको आरोप उनले लगाए।

कार्कीले वाम गठबन्धन आएपछि ओरालो लागेको शेयर बजार सरकार जिम्मेवार नभएको कारण नै घटिरहेको दाबी गरे। 'मैले आरोप लगाउन खोजेको होइन, निर्वाचनको समयमा वाम गठबन्धन भएपछि नै शेयर बजार ओरालो लागेकोमा स्थिर सरकार भएपछि पनि ओरालो लागिरहेको छ', कार्कीले भने, 'लगानीकर्ताले सुरक्षित महसुसस गर्न सकेका छैनन्।'

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सरकार छ भन्ने महसुस गराउनुपर्ने बताए। 'अहिले घटेको बजार स्वाभाविक छ कि छैन? यदि छैन भने उचित नीति लिएर पनि सरकारले प्रोत्साहन गर्नुपर्छ', पाण्डेले भने। उनले बैंकहरूले मनपरी व्याजदर बढाएका कारण पनि पुँजी बजारमा समस्या देखिएको भन्दै घटाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.