|

जनकपुरधाम : ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–सीता विवाह महोत्सवअन्तर्गत मटकोर विधि सम्पन्न भएको छ। मिथिलाको विधिविधानअनुसार जनकपुरधामस्थित गंगासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने गरिन्छ।

त्रेता युगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन् गरी लगिएकाले वर्सेनि विवाह पञ्चमी महोत्सवमा यहाँबाट माटो लगिने परंपरा रहेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। मिथिलाको विधिविधानअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङको सारी, चोलोलगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथा झाकीसहित स्थानीय महिलाहरूसहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिइसकेपछि नगर परिक्रमा गर्ने प्रचलनसमेत रहेको छ। मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परंपरा छ।

मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन रहेको जानकी मन्दिरका रामतपेश्वर दास वैष्णवले जानकारी दिए। मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्त्वपूर्ण विधि हो।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिनेछ। भोलि मंसिर २६ गतेका दिन राम–सीताको शुभविवाह कार्यक्रम हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.