|

बझाङ : ग्रामिण सडक खन्ने क्रममा पहिरो खस्दा बझाङको केदास्यू गाउँपालिका ९ जुइली गाउँका स्थानीय ३० परिवार विस्थापित भएका छन्। जयपृथ्वी राजमार्गसम्म जोड्ने झोता-रकैल ग्रामिण सडक खण्ड खन्ने क्रममा आएको सुख्खा पहिरोले घर विद्यालय र खेतीयोग्य जमिन पुरिएपछि जुइली गाउँका स्थानीयवासी विचल्लीमा परेका हुन्। सडक खन्दा खसेको ढुङगा माटोले जुइली गाउँमा रहेको एक मात्र कैलाश प्राथमिक विद्यालयसमेत क्षतिग्रस्त भएको छ। 

पहिरोले जुइलीवासीको खानेपानी, सिँचाइ नहर तथा घर टहराहरूमा ठूलो क्षति पुर्‍याएको छ। सडक खन्दा खसेको पहिरोले खेतीयोग्य जमिन, मन्दिर र घरमा क्षति भएपछि जुइली गाउँका बासिन्दा विस्थापित हुन पुगेका छन्।

सडक खन्दा खसेको पहिरोले विद्यालय भत्काएपछि गाउँ नजिकैको खुला चौरमा पठनपाठन गर्ने गरेको जुइली गाउँका स्थानीय अमरबहादुर मल्लले बताए। उनले भने, ‘पहिरोले विद्यालय पूरै भत्कायो विद्यार्थीलाई बस्न समस्या हुँदा खुला चौरमा पढाई हुने गरेको छ।’ 

पहिरोका कारण विस्थापित जुइलीवासीले झोता रकैल सडक निर्माण उपभोक्ता समितिसँग क्षतिपूर्ति माग गर्दै आए पनि हालसम्म भने कुनै सुनुवाई भएको छैन। 
पहिरोले जुइली गाउँका वीरबहादुर मल्ल, नरबहादुर मल्ल, डम्बु मल्ल र विष्णु मल्लको करिब ४ रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताइएको छ। 

रैकल गाउँसम्म सडक निर्माण गर्ने अन्य बैकल्पिक ठाउँ हुँदा पनि गाउँकै सिरानीमा सडक निर्माण गरिनु जुइलीबासीलाई पहिरो निम्त्याउने उपाय भएको स्थानीयले अरोप लगाएका छन्। पहिरोले घर जमिन क्षति हुँदा जिल्ला प्रशासनमा उजुरी दिँदा समेत प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर पनि मौन बसेको स्थानीय विष्णु मल्लले आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.