|

बागलुङ : परम्परागत विधिभन्दा नयाँ प्रविधि अपनाए पहिलेको भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ भन्ने बाग्लुङको गलकोट नगरपालिका-३ हटियाका गुमानसिंह खत्रीले देखाएका छन्। उनले 'हाइटेक विधि'को प्रयोग गरेर दोब्बर कमाइ गरेका हुन्। 

सामान्य टनेलभन्दा ठूलो प्लाष्टिकका घरभित्र पाइपबाटै सिँचाइ समेत गर्ने हाइटेक विधिबाट उत्पादन गर्दा दोब्बर कमाइ भएको खत्रीले बताए। यो विधि यसअघिको प्लाष्टिक टनेलभन्दा फरक, ठूलो र नयाँ प्रविधि हो। घरभित्रै तापक्रमको अनुपात मिलाएर तरकारीको उत्पादन बढाउन इजरायलबाट यो बिधि भित्र्याइएको हो। ‘मानिसभित्र छिर्दा रोग किराको संक्रमण हुनसक्छ,’ खत्री भन्छन्,‘हाइटेक भनेको बाहिरबाटै मात्रा मिलाएर सिँचाइ र औषधि उपचार समेत गर्ने विधि हो।’ 

रोप्ने र फल टिप्ने बेलामा मात्र टनेलभित्र छिर्ने अरु समय बाहिरबाटै अनुगमन गर्ने र उपचार गर्ने विधि भित्र्याएर उनले खेती थालेका हुन्। बाग्लुङ नगरपालिकाका अगुवा किसान गंगाबहादुर थापासहित पाँच जनाले यस्तो विधिबाट तरकारी खेती गरिरहेका छन्। खत्रीले खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ कमाएको बताए। अहिले उनको पाँच वटा हाइटेक घर छन्। ‘सानो प्लाष्टिकका घरबाट ठूलो लगानी र ठूलै आकारका घर बनेपछि दरबार भन्न थालेका हौं,’ उनले भने, ‘एउटै हाइटेकभित्र धेरै बाली लगाउन सकिन्छ।’ उनले गोलभेंडा, काउली, मुला, साग, खुर्सानी, बन्दागोवी, काँक्रोलगायतका तरकारी लगाएका छन्। 

सयपत्री फूल लगाएर पनि उनले यस वर्ष हजारौं रुपैयाँ कमाइ गरिसकेका छन्। बाँस गाडेर प्लाष्टिकको घर बनाउँदा वार्षिक पाँच लाख रुपैयाँ मात्र कमाउने उनले यो विधिबाट दोब्बर आम्दानी भएको हो। तीन गुणा आम्दानी बढाउने उनको लक्षमा केही प्राविधिक कमजोरी भएको छ। तातो र चिसो वातावरणको अनुपात मिलाउनका लागि भने नेपालमा प्राप्त विधि पर्याप्त नभएको उनको भनाइ छ। 

‘विदेशमा तापक्रमको अनुपात मिलाइएकाले उत्पादन अत्याधिक हुन्छ। हामीले त्यसो गर्न सकेनौं,’ खत्रीले भने, ‘रोग कीराबाट बचाउन भने यो विधि धेरै उपयोगी छ।’ जाडो मौसममा राम्रो उत्पादन हुने हाइटेकमा गर्मी मौसम अनुपयुक्त भएको उनले बताए। ‘१७ देखि ३५ डिग्रीमा सबै तरकारी फल्छ। गर्मी मौसममा यहाँ तापक्रम घटाउने विधि पाइएन,’ उनले भने, ‘यो विधि पाएमा अहिलेको भन्दा लाखौं रुपैयाँ बढी कमाइ हुन्छ।’ 

डेढ वर्षदेखि जिल्ला कृषि विकास कार्यालयको कार्यक्रम अभाव र स्थानीय तहमा प्राविधिक समेत नहुँदा सोचेजस्तो विधि र प्रक्रिया पुर्‍याउन नसकेको उनको गुनासो छ। ‘अर्ग्यानिक तरकारी खुवाउने र मनग्य कमाइ गर्न उपयोगी छ,’ थापाले भने, ‘आफ्नै पौरखबाहेक सरकारी क्षेत्रबाट प्राविधिक सहयोग पाउनै मुस्किल भयो।’ 

बजार खोज्न पनि आफै दौडिन बाध्य भएको थापाको गुनासो छ। फर्ममा प्लाष्टिकका घर मात्र छैनन्। पानी पोखरी, कुखुरा पालन, थोपा सिँचाइ र औषधिको व्यवस्था समेत छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.