|

उदयपुर : जिल्लाका पहाडी क्षेत्रका विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ। शिक्षक अभवा हुँदा पहाडी भेगका सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।

उदयपुरका जिल्ला शिक्षा एकाइ प्रमुख हरिहर धितालका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका चार गाउँपालिकामा विषयगत शिक्षक अभवा हुँदा पठन-पाठन प्रभावित भएको छ। ‘जिल्लाका ताप्ली, लिङचुङबुङ, उदयपुरगढी र रौतामाई गाउँपालिकाका झण्डै २५० विषयगत शिक्षककाे अभाव छ,’ उनले भने, ‘गणित, नेपाली,अंग्रेजी तथा विज्ञान विषयका शिक्षककाे अभाव छ।’

विषयगत शिक्षक नगरपालिकाकेन्द्रित र शहरी क्षेत्रका विद्यालयकेन्द्रित हुने गरेकाले पहाडी क्षेत्रका विद्यालयमा शिक्षक अभाव भएको हो। शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झण्डै ३०० विषयगत शिक्षकको अभाव रहेको जिल्ला प्रमुख धितालको भनाइ छ। शिक्षा एकाइका अनुसार आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले जिल्लाका विद्यालयमा झण्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि ७०० मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन्। यस्तै कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाइका प्रमुख धितालले जानकारी दिए।

कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा छन्। जिल्लाको ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठन-पाठन सुधार हुन नसक्ने अवस्था रहेको सम्बन्धित क्षेत्रका अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भनाइ छ। उदयपुरमा अहिले ४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.