|
फाइल फोटो

काठमाडौं : मार्गशीर्ष शुक्ल पञ्चमी। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव हुँदैछ। जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्। 

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। 

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। उक्त अवसरमा निस्केको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्। 

पहिले तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिँदै आएको छ।

महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन्। श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बुधबार बिहानैदेखि पूजाअर्चना गरिरहेका छन्।

यो पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहनेछ।  मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम छ । 

विवाहपञ्चमीका अवसरमा आज प्रदेश २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.