|

जनकपुर : विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार बिहान १०:४५ मा जनकपुर आइपुग्दैछन्। मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्न संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी जनकपुर आइसकेका छन्।

आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरधाममा विशेष सुरक्षा सतर्कता बढाइएको छ। सवारी आवागमनमा कडाइका साथै व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको छ।

धनुषामा ट्राफिक प्रहरीले भीभीआईपी रुट निर्धारण गरेको छ। जनकपुरधाम नगरक्षेत्र भित्रमा लागू हुनेगरी साना दुईपाङ्ग्रे देखि तथा ठूला सवारी साधन लैजान नपाउनेगरी रुट निर्धारण गरिएको विशेष सुरक्षार्थ खटिएका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

धनुषा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक साहका अनुसार जनकपुरधाम नगरभित्र मात्रै १४२ ट्राफिक प्रहरी खटिएको छ। नगरभित्र अत्यावश्यक आकस्मिक सेवाका सवारी साधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ। योगी आउने रुटमा सवारीसाधन निषेध गरिएको छ।

योगी आउने रुट निर्धारण

योगी आदित्यनाथ भारत उत्तर प्रदेशको राजधानी लखनउबाट विमान चढी जनकपुरधामको श्यामचोकस्थित विमानस्थल आइपुग्नेछन्। विनस्थलबाट मुरलीचोक, विषहराचोक, कदमचोक, भानुचोक हुँदै जनकचोकवाट जानकी मन्दिर जाने रुट निर्धारण गरिएको छ। जानकी मन्दिरमा पूजापाठमा झण्डै ३० मिनेट देखि ४५ मिनेटको समय छुट्टाइएको छ।  

त्यसपछि, जानकी मन्दिरबाट जानकीचोक हुँदै, देबीचोक, प्रदेश प्रहरी कार्यालय, थापाचोक, वंशीचोक हुँदै प्रदेश सरकारको मधेश भवनमा आयोजना हुने भण्डारा तथा सम्मान कार्यक्रममा सहभागी हुनेछन्। मधेश भवनमा उनको स्वागतमा भण्डारा (भोज) तथा सम्मानको कार्यक्रम राखिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

पुनः प्रदेश सरकारको सम्मानपछि वंशीचोक, थापाचोक, प्रदेश प्रहरी कार्यालय हुँदै ऐतिहासिक बाह्रविघा रङ्गभूमि मैदानको उत्तर गेटवाट रंगभूमी मैदानमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ। बाह्रविघा मैदानमा निकालिएको शाभायात्रा अर्थात् विवाहपञ्चमी महोत्सवको मुख्य आकर्षणको केन्द्रविन्दुलाई डोलालाई झण्डै ३० मिनेट अवलोकन गर्ने कार्यक्रम तय भएको छ।  

पार्किङ स्थान

ढल्केवर–जनकपुरधाम तर्फबाट आएको सवारी साधनलाई जनकपुरधामको मुजेलिया स्थित मणिपालमा पार्किङ स्थल तोकिएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट अर्थात् दक्षिणतर्फ भिठामोडबाट आउने सवारी साधनलाई नयाँ बसपार्क अर्थात् जिरोमाईलमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी धनुषाको सीमावर्ती क्षेत्र जटही र आसपासबाट आएको सवारीसाधनलाई ६ लेनको सडक हनुमान नगरमा पार्किङको व्यवस्था गरिएको छ।

त्यसैगरी जनकपुरको पूर्वपट्टिबाट आउने सवारी साधनको लागि कदम चोकभन्दा पछाडि पार्किङ स्थल तोकिएको धनुषा ट्राफिकले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.