|

भद्रपुर (झापा) : झापास्थित मेची नदीपारि रहेको भद्रपुर नगरपालिका–३ मेचीपारिगाउँका नागरिकको सुविधाका लागि तीन वर्षअघि शिलान्यास भएको झोलुङ्गे पुलको निर्माण अलपत्र परेको छ। निर्माण कम्पनीको चरम लापरवाही र सम्बन्धित निकायको बेवस्ताका कारण पुल निर्माण कार्य अलपत्र परेको हो।

तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का आह्वान गरेको थियो। जसअनुसार दुई करोड ८५ लाख ९८ हजार २५९ रुपैयाँमा नीलगिरी सेवा प्रा.लि. बानेश्वर काठमाडांैले २०७२ भदौ ७ मा ठेक्का सम्झौता गरेको थियो। २८० मिटर लामो र १३ मिटर चौडाइको उक्त झोलुङ्गे पुल १८ महिना अर्थात् २०७३ फागुन ६ मा सम्पन्न हुने गरी सम्झौता भएको थियो। तर, ठेकेदार युवराज डाँगी निर्माण कार्य अलपत्रमा छाडेर सम्पर्कविहीन भएका छन्। 

सम्झौता भएको १८ महिनाको अवधिमा दुई वटा पिलर खडा मात्र निर्माण गरिएको छ। ठेकेदारको लापरवाहीले निर्माण कार्य अलपत्र भएको स्थानीयको गुनसाो छ। निर्माण कम्पनीले पुल निर्माण स्थलमा एउटा टहरा बनाएर दुई÷चार जना कामदार राखेको थियो। तर, पछिल्लो समय उक्त टहरा भत्किएको छ। कामदार पनि छैनन्। औजारका साथै पुलको सामग्री थन्काइएको छ। सामग्रीहरु खिया लागेर काम नदिने अवस्थामा पुगिसकेको छ।

वडा नं. ३ की अध्यक्ष कमला थुलुङले भने नीलगिरी निर्माण कम्पनीका ठेकेदार युवराज डाँगीलाई पुल निर्माणका लागि दवाव दिँदै आएको तर ठेकेदार डाँगीले चासो नदेखाएको बताइन्।

पुल नहुँदाको पीडा

भारतीय सीमावर्ती बजारमा निर्भर मेचीपारिका नागरिक झोलुङ्गे पुल निर्माण भएपछि आर्थिक विकासको पाटो खुल्नेमा आशावादी थिए। तर, उनीहरुको आशा अहिले निराशमा परिणत भएको छ।

‘निर्माण कम्पनीले त्यो सपनालाई विपना हुन दिएन’, स्थानीय अरुण राजवंशीले गुनासो गरे, “ठेक्का लागिसकेको पुल नबन्दा गाउँलेले सास्ती झेल्नु पर्छ, बाढी आएको बेला कुनै काम विशेषले नेपाली बजार जानु पर्दा भारतको बाटो प्रयोग गर्न बाध्यता छ।’

यस क्षेत्रका नागरिकलाई सरकारी कामकाजका लागि मेची नदी तरेर आउनुपर्ने बाध्यता छ। हिउँद याममा नदी तरेर आउन सके पनि वर्षायाममा भने कठिन रहेको जितलाल राजवंशीले बताए। उनले भने, ‘बर्खाको तीन महिना भद्रपुर नगरपालिका, वडा कार्यालय वा अन्य कुनै सरकारी कार्यालयबाट सेवासुविधा लिनु पर्दा, छोराछोरीलाई विद्यालय तथा कलेज पढ्न पठाउँदा डुंगा चढेर ज्यान जोखिम राखेर जानु पर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.