|

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि ६५ वर्षमा लागेका छन्। वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी- २ लेवाडेमा जन्मिएका प्रचण्डले ६४ वर्ष पूरा भएर ६५ वर्षमा लाग्दा जन्मदिन नमनाए पनि शुभकामना भने ग्रहण गरेका छन्।

नेकपा अध्यक्ष प्रचण्डको जन्मदिनको सन्दर्भमा बुधबार बिहानै प्रचण्ड निवास खुमलटारमा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको थियो। बुकीसहित पुगेका युवा, विद्यार्थी, कार्यकर्ताले अध्यक्ष प्रचण्डलाई शुभकामना तथा बधाई दिँदै सुस्वास्थ्यको कामना गरेका थिए।

कार्यकर्ताहरूको शुभकामना ग्रहण गर्दै नेकपा अध्यक्ष प्रचण्डले शुभकामना ग्रहण गरे पनि जन्मदिनको सन्दर्भमा कुनै पनि गतिविधि भने गरेनन्। यद्यपि, बिहानभर निवासमै रहेर कार्यकर्ता भेटघाट तथा शुभकामना ग्रहण भने गरे।

उनले कार्यकर्ताहरूलाई जन्मदिन मनाउने चलन नरहेको भन्दै शुभकामना दिएको धन्यवाद ज्ञापन गरेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। 'जन्मदिनको शुभकामना दिन आउनुभएकोमा धन्यवाद। जन्मदिन मनाउने गरेको छैन। शुभकामना आदानप्रदान भने हुन्छ', अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै सल्लाहकार सापकोटाले भने।

छविलाल, पुष्पकमल हुँदै प्रचण्ड

पिता मुक्तिराम र माता भवानी दाहालका जेठो छोराका रूपमा जन्मिएका अध्यक्ष प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा लिएका हुन्। २०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट प्रवेशिका उत्तीर्ण गरेका प्रचण्डले पाटन बहुमुखी क्याम्पसबाट (२०२७–२०२९) आइएस्सी. पूरा गरेका हुन्। रामपुर कृषि क्याम्पसबाट (२०३१–२०३३) कृषिमा बीएस्सी गरेर एमपीएसम्मको अध्ययन गरेका छन्।

कक्षा १० मा अध्ययनरत रहँदा छविलाल दाहाल नाम परिवर्तन गरेर प्रचण्डले पुष्पकमल दाहाल नामकरण गरेका थिए। वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो। यसै क्रममा उनी प्रचण्डको रूपमा सबैमाझ परिचित हुँदै आए।

वि.सं. २०१९ मा कास्की ढिकुरपोखरी- २ बाट चितवन भरतपुरको शिवनगर गाविसमा प्रचण्ड परिवारले बसाइँसराइ गरेको थियो। वि.सं. २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी र एक छोरा हुन्, जसमध्ये जेठी छोरी ज्ञानु र एक मात्र छोरा साकार दाहाल 'प्रकाश'को निधन भइसकेको छ।

नारायणी विद्यामन्दिर मावि शिवनगरमा २०२९ सालमा, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखा (२०३३–०३५) मा अध्यापन गरेका अध्यक्ष प्रचण्डले २०३२ सालमा युएसएडमा समेत काम गरेका थिए।

वि.सं. २०२८ सालमा नेकपा (पुष्पलाल समूह)को सदस्य बनेर राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले रामबहादुर थापा 'बादल', मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए।

२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता हुँदै २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका प्रचण्ड २०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भएका थिए। उनी २०४० सालमा संघको केन्द्रीय अध्यक्षमा समेत निर्वाचित बने।

वि.सं. २०४१ मा नेकपा (मशाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका प्रचण्ड २०४२ सालमा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए।

२०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको १० वर्षे युद्धको नेतृत्व गरे।

२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका अध्यक्ष प्रचण्डले २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहँदै २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित प्रचण्ड २०६९ सालमा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट माओवादीको अध्यक्ष पदमा पुनः निर्वाचित भएका थिए।

२०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित प्रचण्ड २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ- १० र रोल्पा- २ बाट निर्वाचित भएका हुन्। २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा- ५ बाट निर्वाचित उनी २०७५ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन- ३ बाट निर्वाचित भएका हुन्।

२०७३ मा पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्ड २०७५ जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.