|

काठमाडौं : माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गोपी'को पोस्टर सार्वजनिक भएको छ। बुधबार निर्माण युनिटले फिल्मको चार पोस्टर सार्वजनिक गरेको हो। टौवा क्रियसनका विजय बस्यालले तयार पारेको चार पोस्टरमा नै फिल्मका मुख्य कलाकार विपिन कार्की फिचरिङ छन्।

'गोपी'मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन्। पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई पनि प्राथमिकता दिइएको छ। चार पोस्टरमा एक पोस्टरमा मात्र फिल्मका दुई नायिका वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ।

दीपेन्द्र लामा निर्देशित फिल्ममा आरोही केसीको लगानी रहेको छ। 'आरोही इन्टरटेनमेन्ट'को ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। निर्देशक लामाकै कथा समावेश फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ।

फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ। न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्ममा पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ। शैलेन्द्र डि कार्कीले खिचेको यस फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.