|

काठमाडौं : विपन्न नागरिकहरूको उपचार गर्ने अस्पताल भनेर चिनिएको अस्पताल हो- नेपालकै जेठो र पुरानो वीर अस्पताल। यस अस्पतालमा दैनिक दुई हजार बढी बिरामीले स्वास्थ्य सेवा लिने गर्छन्।

तर यतिखेर वीर अस्पताल तथा यसअन्तर्गत रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) नेतृत्वविहीन हुँदा अस्पतालको सेवा र सुविधामा असर परिरहेको छ। गत २४ साउनदेखि उपकुलपति प्रा.डा. गणेश गुरुङ र गत २९ असोजदेखि अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र कुमार बस्नेतको कार्यकाल सकिएपछि गत दुई महिनादेखि वीर अस्पताल नेतृत्वविहीन हुनपुगेको हो।

नेतृत्वविहीन भएको दुई महिना पुग्दासमेत पदाधिकारीको नियुक्ति नभएपछि अस्पताललाई चाहिने दैनिक उपकरण तथा अन्य सामानहरू खरिद हुन नसक्दा वीर अस्पतालले दिँदै आएको सेवा प्रभावहीन बन्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन्। अस्पतालका एक कर्मचारीले भने, 'अस्पतालका महत्त्वपूर्ण दुवै पधाधिकारी पद रिक्त हुँदा हाल अस्पताल संचालनमा आवश्यक पर्ने दैनिक उपकरण तथा केमिकलहरू किन्न नसक्दा सेवामा प्रत्यक्ष असर पर्न थालेको छ।'

हाल भिसी पद रिक्त रहे पनि अस्पतालको निमित्त निर्देशकमा भने डा. बस्नेत नै रहे पनि निमित्त पदाधिकारीमा उपकरण खरिद गर्ने अधिकार नहुने भएकाले सेवामा असर पुगेको हो।

दैनिक दुई हजार बढी बिरामीहरूले सेवा लिने वीर अस्पतालमा तत्कालै पदाधिकारीहरूको नियुक्ति नभए यही अवस्थामा सेवा पूर्ण रूपमा रोकिन सक्ने कर्मचारीले बताउँदै आएका छन्।

टिकटदेखि एक्सरे पेपरसमेत सकियो

पदाधिकारी खाली भएको लामो समय पुगिसक्दा पनि नयाँ नेतृत्व अस्पतालमा नआउँदा यसको असर बिरामीलाई परिरहेको त छ नै दैनिक ओपिडी टिकटदेखि ऐक्सरे गर्दा आवश्यक पर्ने एक्सरेका प्लेट, एक्सरे थरमल पेपर, विभिन्न रोगहरूको परीक्षण गरिने किटहरू किन्न समस्या भएको छ, जसले गर्दा अस्पतालमा हुने ल्याब सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका कर्मचारीहरूले बताउँदै आएका छन्। एक कर्मचारीले भने, 'यसअघि करिब दुई महिनासम्मको आवश्यक सामान खरिद गर्ने गरिएको थियो, अब ती सामानहरू सकिन लागिसके। पदाधिकारीहरू नहुँदा थप सामानहरू खरिद हुन सकेको छैन।'

यस्तै, न्याम्समा एमडी एमएस, डिएन एमको पठनपाठन संचालन हुँदै आएको छ। लामो समयसम्म प्रतिष्ठानका दुवै जिम्मेवार पद खाली हुँदा त्यसको प्रत्यक्ष असर अस्पतालमा आउने दैनिक बिरामीहरूदेखि प्रतिष्ठानले संचालन गर्दै आएका धेरै परियोजनामा समेत असर पर्दै आएको छ।

करिब छ महिनादेखि रिक्त रहेको न्याम्सको भिसीका लागि तीन महिना अगाडि नै उपकुलपतिका लागि डा. डिएन शाह, डा. ढुण्डीराज पौडेल, डा. अजित रायमाझीको नाम सिफारिस भए पनि अझसम्म उपकुलपतिको नियुक्ति हुन सकेको छैन।

यता, लामो समयसम्म पनि  न्याम्समा पदाधिकारी नियुक्ति नगरेको भन्दै प्रतिष्ठानअन्तर्गत रहेको कर्मचारी युनियनले तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्दै आएको छ। यसअघि युनियनले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट गठित कमिटीको सिफारिसमा परेका उम्मेदवारमध्येबाटै तत्काल उपकुलपति नियुक्त गनुपर्ने मागसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.