|

भोजपुर : अलैँचीको मूल्यमा विगतका वर्षको तुलनामा आधा ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ।  तरपनि भोजपुरको पश्चिमी टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका कृषकहरु भने यतिबेला धमाधम अलैँची खेती विस्तारमा तल्लीन भएर लागिरहेका छन्।

बर्सेनि बाँझो जोत्न, हिल्याउन, आलीभित्ता, रोपाईँ, खेताला, कुलोपानी, काट्ने, उठाउने र फेरि जोत्ने लगायत विभिन्न झन्झटिलो धान खेतीको कामभन्दा अलैँचीलाई एकचोटि रोपेपछि वर्षमा एकपटक गोडेमेल र मलजल मात्र गरे वर्षौँसम्म पुग्ने भएकाले यहाँका कृषकहरु धान खेतीलाई थाती राखेर अलैँची खेतीमा आकर्षित भएको बताउँछन्। अलैँचीको मुल्य घटे पनि अरु खेतीको तुलनामा यसले फाइदा नै पुर्‍याउने भएकाले खेतीलाई नै निरन्तरता दिएको युवा कृषक राजेश राईले बताए। राईले भने, ‘धान रोप्न धेरै झन्झट र समय लाग्ने भएकाले हेरचाह पनि धेरै गर्नुपर्छ। तर अलैँचीलाई एकचोटी गोडेर पानी हालीदिए पुग्छ। अलैँचीमा मेहनत कम लाग्ने र मुल्य पनि राम्रै भएकोले धान छोडेर यो खेती सुरु गरेँ।’

विगत बर्षहरुमा अलैँचीको विरुवा जेठ–असारमा मात्रै रोप्ने उनीहरु हिउँदको समयमा पनि सिँचाइको व्यावस्था मिलाएर बिरुवा विस्तारसमेत गरिरहेका छन्। अन्य खेतीको तुलनामा अलैँची खेती गर्नसमेत सहज हुने भएकाले धान, मकैको तुलनामा फाइदाजनक नै रहेको अर्का कृषक दीपचन्द्र राईले बताए। ‘गएको वर्ष यसको मुल्य ह्वात्तै घट्दा अलिक अलैँची सोचेजस्तो विक्रि गर्न सकिएन। तर धानको मुल्यभन्दा कम परिश्रम लाग्ने यो अलैँची खेतीबाट सन्तोषजनक नै आम्दानी हुने गरेको छ।’ राईले बताए।

आफ्नो सयौँ मुरी धान फल्ने खेत मासेर भए पनि अलैँची खेती विस्तारमा लागेका यहाँका युवा कृषकहरु जिल्लामा उदाहरणीय छन्। गतसाल मात्रै जिल्ला कृषि विकास कार्यालयले छिनामखुको उद्यमशील कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्‍तर्गत ५० प्रतिशत अनुदान र अलैँची विकास समितिको सहयोगमा अलैँची ढुवानी गर्ने एउटा मिनी ट्रकसमेत उपलब्ध गराएको थियो। सहकारीले उक्त परियोजना अन्र्तगतकै २३ लाखको लगानीमा गाउँभरिको किसानको उत्पादित अलैँची संकलन गर्नेगरी अलैँची गोदाम बनाएको थियो। सहकारीका कोषाध्यक्ष सुमन प्रधानले गोदाममा अलैँची संकलनका साथै अलैँची व्यावस्थापन तथा ढुवानी गर्ने गरेको बताए। यहाँको अलैँची धरान, विराटनगर, विर्तामोड हुँदै भारत निकासी हुने गरेको कोषाध्यक्ष प्रधानको भनाइ छ।

वैदेशिक रोजगारीमा दैनिक हजारौँको संख्यामा विदेशिने युवाहरुका लागि गाउँमा उदाहरणीय उद्यमी बनेका छन्, यहाँका युवा अलैँची उद्यमीहरु। गाउँका धेरैजसो युवाहरु विदेशबाट फर्किएर गाउँमै केही गर्ने सोचकासाथ अलैँची खेतीतर्फ लागेका छन्। अलैँची खेतीमै प्रशस्त सम्भावना देखेका यहाँका युवा कृषकहरुलाई पछिल्लो समय गाउँमै ग्रामीण कच्ची सडक पुगेपछि अलैँची बिक्री गर्न पनि सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.