|

काठमाडौं : लामो समयदेखि बेलायतमा बस्दै आएका कवि देवेन्द्र खेरेसको दोस्रो कविताकृति 'कोलम्बस यात्रा' सार्वजनिक भएको छ। राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्वकुलपति कवि वैरागी काइलाले कृतिको विमोचन गरेका थिए। कार्यक्रम नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले संयुक्त रूपमा आयोजना गरेको हो। कृतिमाथि समीक्षा सुरेश हाँचेकालीले गरेका थिए।

नेपालमा मात्र होइन, डायस्पोरामा बसेर नेपाली साहित्यको स्तर उन्नतिका लागि कलम चलाउने स्रष्टाहरू लागि परिरहेका बताउँदै हाँचेकालीले यसको उदाहरण देवेन्द्र खेरेस भएको बताए। ३१ वटा कविता समावेश गरिएको यस कृतिमा देश छाडेर परदेश जाँदाका अनगिन्ती पीडाहरू, किरात सभ्यताका बिम्बहरू आएको उनले बताए। पुँजीवादले हाम्रो जस्तो तेस्रो मुलुकमा कसरी सीमान्तकृत सभ्यताहरूमाथि हमला गर्छ भन्ने विषयमा पनि कविले कविता लेखेको उनले बताए। राज्य व्यवस्था र विसंगतिबारे पनि उनका कवितामा कटाक्ष गरिएको हाँचेकालीले टिप्पणी गरे। 

वैरागी काइँलाले खेरेसका कवितामा शब्द, शिल्प, प्रस्तुति एकदमै उत्कृष्ट रहेको बताए। मूलधारको नेपाली साहित्यले डायस्पोराको साहित्यलाई आफ्नो मान्छ कि मान्दैन? यो अहिले पनि छलफलको विषय रहेको भन्दै उनले परदेशमा रहेर खेरेसले लेखेका कवितामा प्रयोग भएका बिम्ब र प्रतीकले आफूलाई उत्साहित बनाएको बताए। कवितामा शब्दको चाङ लगाएर मात्र उत्कृष्ट नहुने भन्दै उनले कवितामा काव्यात्मकता हुनुपर्नेमा जोड दिए। 

कवि श्रवण मुकारुङले खेरेस अब्बल कवि रहेको बताए। पहिलो कविता कृतिमा नै खेरेसले आफ्नो खुबी प्रस्तुत गरेको उनले सम्झना गरे। हाम्रा कविताले परंपरागत शैलीको सत्यमाथि मन्थन गर्न सक्नुपर्ने उनले बताए। कृति नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.