|

हेटौँडा : नेपालका लागि बेलायती राजदूत रिचार्ड सी मोरिस र प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलबीच बुधबार हेटौँडामा भेटवार्ता भएको छ।

हेटौँडा– २ स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको भेटघाटमा बेलायती राजदूतले प्रदेशको वर्तमान अवस्थाका बारेमा चासो राखेका थिए। उनले प्रदेशमा लगानीमैत्री वातावरण तयार भएको खण्डमा आफूहरू लगानीका लागि तयार रहेको बताउँदै त्यसका लागि उचित वातावरण बनाउनसमेत आग्रह गरे। ‘लगानीका लागि विद्युत, सडक, सुरक्षा तथा कानुनको आवश्यकता पर्छ। लगानीको प्रतिफल आउने ग्यारेण्टी भएको खण्डमा लगानीका लागि तयार छौँ।’

उनले प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा समेत चासो राखे। उनले नेपालमा विस्तारै राजनीतिक र प्रशासनिक अनिश्चितता हट्दै गएको भन्दै खुसीसमेत व्यक्त गरे। राजदूत रिचार्डले बेलायतले नेपालका विभिन्न स्थानमा गरेको सहयोगको विषयमा जानकारी गराउँदै प्रदेश ३ सँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न सदैव तयार रहेको र आफ्नो पहिलो आधिकारिक प्रादेशिक भ्रमण सोचेअनुसार भएको पनि बताए।

मन्त्री जम्मकट्टेलले लगानीमैत्री वातावरण बनाउन र औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकारले काम गरिरहेको र त्यसका लागि कानुन निर्माणका कामसमेत भइरहेको बताए। उनले प्रदेशको राजधानी र नामकरण प्रक्रियाबाट टुंगिने र त्यसका लागि केही समय लाग्ने बताए। उनले लगानीको सुरक्षा दिन प्रदेश सरकार तयार रहेको जनाए। प्रदेशको मुख्य प्राथमिकतामा हेटौँडा–काठमाडौं सुरुङमार्ग रहेको र त्यसलाई पूरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। 

मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले तत्कालै सहयोग र अनुदान लिनका लागि कानुन बाधा भएको जानकारी गराउँदै संघीय सरकारमार्फत् प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न सकिने र त्यसका लागि प्रदेश सरकार सधैँ तयार रहेको उल्लेख गरे। उनले प्रदेश प्रहरी ऐन बन्ने क्रममा रहेकाले तत्कालका लागि संघीय सरकारको मातहतबाट सुरक्षाको काम भइरहेको जानकारी गराएका थिए।

भेटवार्ताको क्रममा बेलायती संस्था डिएफआइडीका प्रतिनिधि कर्टिस पाल्मर, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.