|

जनकपुरधाम : ऐतिहासिक, धार्मिक, समाजिक तथा सांस्कृतिक महत्व बोकेको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आएका  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधामको जानकी मन्दिरको दर्शन र पूजा गरेका छन्। जानकी मन्दिरमा मुख्यमन्त्री योगीलाई षडोशर विधिबाट पूजा गराइएको थियो।

जानकी मन्दिरमा पूजापाठ पश्चात् योगी प्रदेश २ सरकारले आयोजना गरेको सम्मान तथा दिवाभोज (भण्डारा) कार्यक्रममा सहभागी भएका थिए। भण्डारा कार्यक्रममा नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट आएका १ हजार ५१ साधुलाई भोजन गराईएको थियो। उनीहरूले सामूहिक रूपमा सबै एकै ठाउँमा भोजन ग्रहण गरेका थिए।

प्रदेश सरकारको सचिवालय तथा मधेस भवनमा आयोजित सम्मान समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मायाको चिनो स्वरुप जानकी मन्दिरको चिनो सहित कदरपत्रका साथ सम्मान गरेका थिए। यसैगरी योगी आदित्यनाथले समेत श्रीरामको प्रतिमा मुख्यमन्त्री राउतलाई दिएका थिए।

प्रदेश २ का मुख्यमन्त्री राउतसँगै, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहितका व्यक्तिहरूले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।

यसैगरी जनकपुरधाम स्थित ऐतिहासिक बाह्रविघा रङ्गभूमि मैदानमा आयोजित स्वयंम्वर समारोहमा योगीलाई जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट जानकी मन्दिर तथा मिथिला चित्रकला मायाको चिनो तथा दोसल्लाका साथ सम्मान गरिएको थियो। जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट प्रमुख लालकिशोर साहले कदरपत्र हस्तान्तरण गरेको थिए। सोही अवसरमा जानकी मन्दिरको तर्फबाट जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले समेत कदरपत्रका साथ सम्मान गरेका थिए।

त्यस अवसरमा राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, प्रदेश २ प्रदेशसभाका सभामुख सरोज यादव, प्रदेश २ का मन्त्री, सांसद तथा विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.