|

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मंसिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो। समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो।

यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौं उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो।

विधान मस्यौदाका सम्बन्धमा मंसिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन।

विशेषगरी पदाधिकारी संख्या बढाउने/नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ। आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ।

केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन्। स्थानीय व्यवस्थापन समितिले महासमिति बैठकको अन्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ। बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको काठमाडौं कांग्रेसका जिल्ला सभापति बानियाँले जानकारी दिए।

महासमिति बैठकको उद्घाटन मंसिर २९ गते

यसैबीच कांग्रेसले महासमिति बैठकको कार्यक्रम तालिका बुधबार सार्वजनिक गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रम तालिका अनुसार मंसिर २८ गते कांग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत हुनेछ। मंसिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ।

त्यस्तै उद्घाटन समारोह समापनलगत्तै सोही स्थानमा बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.