समाज

रुकुममा जीप यातायात ठप्प
SHARES

गैरकानुनी भन्दै प्रहरीले चल्नै दिएन

मंसिर २७, २०७५

    रुकुम : रुकुमपश्चिम जीप यातायात मंगलबारदेखि ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले क्षमता भन्दा बढी यात्रु बोक्ने जीप सञ्चालनमा रोक लगाएसँगै जिल्लाका विभिन्न ठाउँबाट बाहिरिने र भित्रिने जीपहरू चल्न नसकेका हुन्।

    ५ सिटको क्षमता भएको जीपमा त्यसको तेब्बर बढी यात्रु बोकेको पाइएपछि जीप सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। उनकाअनुसार यातायात व्यवस्था कार्यालयबाट ५ सिटको अनुमति लिएका जीपहरूले नियम विपरित दोब्बर बढी सिट राखेर धेरै यात्रु बोक्दै आएका छन्।  

    प्रहरीको कडाई गरेसँगै रुकुम पश्चिम सदरमुकाम मुसिकोट खलंगाबाट जिल्लाका चौरजहारी, आठबिसकोट, बाँफिकोट र रुकुम पूर्व रुकुमकोट जाने अधिकांश जीपहरू चल्न नसकेका हुन्। हाल जिल्लामा संचालित जीपहरूमध्ये ८० प्रतिशत भन्दा बढी जीपहरूले ५ सिटको अनुपति लिए पनि पछि सिट थपेर तेब्बर बढी यात्रु ओसार्दै आएका छन्।

    ‘सिट क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेको र दुर्घटना भइ हालेमा सबै यात्रुले क्षतिपूर्ति नपाउने अवस्था रहेकाले रोक लगाएका हौं,' प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले भने,‘जिल्लाभरि संचालनमा रहेका जीपमा २० प्रतिशत जति मात्र कानुनी प्रक्रिया अनुसारका छन्। अन्य सबै गैरकानुनी तरिकाले संचालनमा छन्।’ ५ सिटको अनुमति लिएर बढी यात्रु बोक्ने करिब चार दर्जन बढी जीपहरूलाई संचालनमा रोक लगाइएको प्रहरीको भनाइ रहेको छ।

    एकमहिना अगाडिदेखि नै नियममा आउन जीप व्यवसायीलाई सचेत गराउँदै आए पनि अटेरी भएपछि बाध्य भएर जीप बन्द गराएको प्रहरीको भनाइ छ। गत असोज २८ गते जिल्लाका यातायात व्यवसायी सम्मिलित जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०७४ अनुसार जिल्लामा यातायातका साधन संचालन गर्ने निर्णय भएको थियो।

    ऐन र नियमावलीमा सिट क्षमता भन्दा बढी यात्रु बोकेमा कारबाही हुने उल्लेख गरिएको र नियमअनुसार नगएमा प्रहरी प्रशासन लगाएर यातायातका साधन बन्द गर्ने सहमतिअनुसार नियमविपरित संचालनमा रहेका जीप बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए। निर्णय कार्यान्वयन नगरेसम्म जीप सञ्चालन हुन नदिने उनले बताए।

    प्रहरी प्रशासनले जीप संचालनमा रोक लगाएपछि संचालकले अनुपति लिएसम्म मात्र यात्रु राख्न पहल गरेका छन्। ‘प्रहरीको कडाई पछि जीप सञ्चालकहरू मसँग पनि आउनुभएको थियो। उहाँहरूले हामी विभागको अनुमति दिए अनुसारको मात्र सिट राख्छौं। तर सिट काट्न केही समय दिनुहोस् भन्नुभएको छ’ प्रहरी प्रमुख खड्काले भने,‘मैले त्यसो हुँदैन। यो पहिले नै जिल्लामा सबैको सहमतिमा भइसकेको निर्णय हो। पहिले अनुमति बिनाका सिट काट्नुहोस्। अनिमात्र गाडी चलाउनुहोस् भनेको छु।’

    प्रहरीको कडाईसँगै जिल्लाका बिभिन्न ठाउँमा जाने यात्रु भने मर्कामा परेका छन्। राप्ती र मध्य पहाडी मार्ग खण्डमा ठूला बस संचालनमा आउने गरेको भए पनि जिल्लाका अधिकांश ग्रामीण सडकमा साना जीप मात्रै संचालनमा आउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]