|

लहान : त्रिवि शिक्षण अस्पतालका हाडजाेर्नी डा. गोविन्द केसीले सिरहाको दुर्गम भेगमा पर्ने दलित बस्तीमा पुगेर स्वास्थ्य शिविर चलाएका छन्।  

उनले निजी खर्चमा सोमबारदेखि बुधबारसम्म सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाइनको दलित बस्तीमा चलाएको स्वास्थ्य शिविरमा ३२५ जनाले स्वास्थ्य जाँच गराएका छन्।

डा. केसीले काठमाडौंमा गरेको १४ औं अनसन तोडाउने क्रममा जुस खुवाउने नथुनी रामको घर रहेको सोठियाइन गाउँका दलित तथा विपन्नहरुका लागि स्वास्थ्य जाँचसँगै न्यानो कम्बल समेत वितरण गरेका छन्। रामले भने, ‘सुगम जिल्लाको दुर्गम भेगमा पर्ने दलित बस्तीमा डा. केसीको सेवा पाउनु गरिबहरुका लागि ठूलो कुरा हो।’

डा. केसीले सोमबार ४०, मंगलबार २४० र २५ जनाको बुधबार बिहान स्वास्थ्य जाँच गरी श्वासप्रश्वास, हाडजोर्नी, नशा, सिटामोलसहित अन्य औषधि समेत वितरणा गरेको सोठियाइन हेल्थपोष्टकी इञ्चार्ज कल्पनाकुमारी यादवले बताइन्। स्वास्थ्य क्षेत्रमा कहलिएका डाक्टरले गाउँमै आएर गरिबहरुको स्वास्थ्य जाँच र औषधिसँगै कम्बल बाँड्नु ठूलो कुरा भएको सखुवानन्कारकट्टी गाउँपालिका-२ का वडाध्यक्ष बिल्टु यादवले बताए। लाहानबाट १५ किलोमिटर दक्षिणमा पर्ने सोठियाइनस्थित दलित बस्तीमा पुगेर स्वास्थ्य सेवासँगै न्यायो कम्बल पनि बितरण गरेको केसीका सहयोगी डा. राज झाले बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.