|

काठमाडौंः पूर्वराष्ट्रपति डा. रामवरण यादवले धर्म परिवर्तनले देशमा द्वन्द्व बढ्ने खतरा हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। साथै यादवले धर्मका नाममा राजनीति नगर्नसमेत कांग्रेस नेतृत्वलाई आग्रह गरे।

महामन्त्री शशांक कोइरालालाई लक्षित गर्दै यादवले नेपाल धर्म निरपेक्ष देश भएकाले धर्मका विषयमा राजनीति गर्नु संविधानको मर्म विपरित हुने बताए। तर, उनले धर्म परिवर्तनको खेलले देशमा द्वन्द्वको खतरा हुने भन्दै त्यसतर्फ सचेत हुन राजनीतिक नेतृत्वलाई सुझाएका छन्।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पुस्तक नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादको विमोचन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशमा पाँच हजार चर्च खोलिएको खबर आफूले सुनेको र त्यो गलत भएको बताए। सनातन धर्मको संरक्षण गर्नुपर्ने र धर्मान्तरमा बन्देज लगाइएकोले यसका विषयमा नेतृत्वले ध्यान दिनुपर्ने बताए।

उनले मदन भण्डारीका नाममा बनाइने चुरेमार्गले मधेशमा पानीको हाहाकार हुने भन्दै चिन्तासमेत व्यक्त गरे। साथै उनले मधेलाई राजनीतिकर्मीहरुले उपेक्षा गर्न नहुने समेत बताए। उनले नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र रामशरण महततर्फ संकेत गर्दै नेताहरु मधेशमा पुग्नुपर्ने बताए। त्यसलाई कांग्रेस महासमितिमा जोडदार रुपमा उठाउन समेत सुझाव दिए।

कांग्रेसले महासमितिको बैठक जनकपुर र विरगंजमा किन गर्न सकेन भनेर नेतृत्वलाई प्रश्न पनि गरे। साथै उनले अहिले कांग्रेसका नेताहरुको सम्बन्ध जनतासँग नभएको बताए। उनले नेताहरु जनताको घरमा पुगेपनि साँझ परेपछि होटलमा बास बस्ने गरेकोमा दुःख व्यक्त गरे।

साथै उनले संविधानमा जातिय, क्षेत्रीय र अरु केही गडबडी भएकोले त्यसलाई मिलाउँदै कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने बताए। तराई, पहाड र हिमाललाई जोड्दै राष्ट्रिय एकतामा ध्यान दिनुपर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.