|

हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बेलायती राजदूत रिचर्ड मोरिससँग भेट गर्दै प्रदेश राजधानी र प्रदेश नामाकरणका बारेमा बताएका छन्। विहीबार मोरिससँग भेट गर्दै पौडेलले प्रदेश राजधानी हेटौंडा कायम गर्न दलहरूका बीचमा सहमति भइसकेको र केही दिनमै यसका विषयमा टुंगो लगाउने बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब एकघण्टा भएको भेटवार्ताको क्रममा बेलायती राजदुत मोरिसले प्रदेश सरकार अनुभवको विषयमा जिज्ञासा राखेका थिए। ‘प्रदेशको राजधानी हेटौंडा नै कायम गर्न दलहरु सहमत भइसकेका छन्। अब सहमतिमा प्रक्रिया टुंगिन्छ। हामी एक महिनाभित्रमा टुंग्याउने गरी गृहकार्यमा जुटेका छौं’ पौडेलले भेटपछि प्रतिक्रिया दिए।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार योजना बैंक बनाएर अगाडि बढिरहेकोले हाललाई प्रदेशभित्रका १३ जिल्ला जोड्ने सडक सञ्जाल निर्माण, साझा यातायात, हेटौंडा–काठमाडौं सुरुङ मार्ग विशेष प्राथमिकतामा रहेको बताएका थिए। 

राजुदत रिचर्डले संघीय सरकारसँग मतभेतका विषयलाई कसरी लिइएको र बेलायत सरकारसँग प्रदेश सरकारले कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर समेत मुख्यमन्त्री पौडेलसँग चासो व्यक्त गरे। मुख्यमन्त्री पौडेलले संघीय सरकारसँगको मतभेतका विषयमा धेरै क्लियर भइसकेको र जुनसुकै रुपमा पनि बेलायत सरकारसँग सहकार्य गरेर जाने वातावरण आफूहरुले तयार पार्ने आश्वासन दिलाएका थिए।

भेटघाटमा सहभागी नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले राजदुत र मुख्यमन्त्रीको भेट निकै सकारात्मक देखिएको र यस भ्रमणबाट बेलायत प्रदेशको राजधानीमा आफ्नो आधिकारिक कार्यालय खोल्न समेत सकारात्मक देखिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.