समृद्धिका १४ र सुखीका २४ सूचक

|

काठमाडौं : वर्तमान सरकारको मूल नारा हो- 'समृद्ध नेपाल, सुखी नेपाली।' समृद्धिको आधार र सुखी नेपाली कस्ता हुन्छन्? यसको ठेट उत्तर भने छैन।

सरकारको यो नारालाई सहयोग पुग्नेगरी राष्ट्रिय योजना आयोगले समृद्ध नेपाल र सुखी नेपालीको मापदण्ड तय गरेको छ। आयोगले तीन चरणमा पूरा गर्ने गरी समृद्ध नेपाल र सुखी नेपालीका ३८ वटा सूचकहरू तय गरेको छ। 'समृद्ध नेपाल, सुखी नेपाली' अवधारणाअन्तर्गत १४ वटा समृद्धिका सूचक र २४ वटा सुखी नेपालीका सूचक रहेका छन्।

'समुन्नत स्वाधीन समाजवाद उन्मुख अर्थतन्त्रसहितको सघन अन्तरआवद्धता तथा उच्च उत्पादकत्व भएको समान अवसर प्राप्‍त स्वास्थ्य, शिक्षा र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक' अवधारणको राष्ट्रिय सोचमा उल्लेख गरिएको छ। अर्थात् संसारको सुखी नागरिक बस्ने देशको रूपमा नेपाललाई लिइएको छ।

'वि.सं‍. २१०० मा उच्च आय भएको विकसित मुलुक र कुल राष्ट्रिय प्रति व्यक्ति आय १२ हजार ५०० डलर हुनेछ' राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको छ। २०७५ मा प्रति व्यक्ति आय एक हजार १२ डलर रहनेछ। २०७८ मा एक हजार ५००, २०८७ मा चार हजार १०० र २१०० मा १२ हजार ५०० डलर अर्थात् अहिलेको मुद्रालाई हेर्ने हो भने १२ लाख ५० हजार रुपैयाँ एक नेपालीको आय हुनेछ। यस हिसाबले एक नेपालीको मासिक आम्दानी एक लाख रुपैयाँ हुनेछ। यसका लागि योजना आयोगले तीनवटा पहिलो पाँच वर्षे र दोस्रो/तेस्रो १०/१० वर्षे चरणको समायवधि निर्धारण गरिएको छ।

के हुन् समृद्धिका सूचक?

आयोगको प्रारम्भिक मस्यौदाअनुसार समृद्ध नेपालका १४ वटा सूचक रहेका छन्। १४ सूचकहरू उच्‍च तथा समतामूलक राष्ट्रिय आय, शून्य गरिबी, राष्ट्रिय आम्दानीमा तल्लो तहको ४० प्रतिशत आयलगायतका विषयलाई आधार बनाइएको छ।

उच्च समतामूलक राष्ट्रिय आय

  • उच्‍च आय  वा औद्योगिक राष्ट्रस्तरको प्रतिव्यक्ति आय
  • शून्य निरपेक्ष गरिबी
  • राष्ट्रिय आम्दानीमा तल्ला तहको ४० प्रतिशत अनुपात

उत्पादन तथा उत्पादकत्व

  • कृषि, वनजन्य र औद्योगिक उत्पादन र अर्थतन्त्रमा सोको हिस्सा
  • आयात निर्यातको अनुपात
  • राष्ट्रिय क्षेत्रगत र उत्पादनका साधनको उत्पादकत्व
  • ऊर्जा उपभोगमा स्वच्‍छ ऊर्जाको अनुपात

मानव पुँजी निर्माण र संभावनाको पूर्ण उपयोग

  • स्वस्थ र लामो आयु भएको नेपाली
  • गुणस्तरीय रोजगारमूलक तथा जीवन उपयोगी शिक्षाप्राप्त नागरिक
  • उत्पादनशील र मर्यादित रोजगारीमा संलग्न जनसंख्या

सर्वसुलभ र आधुनिक पूर्वाधारमा आवद्धता

  • सर्वसुलभ र आधुनिक यातायात सेवा
  • शहरी पूर्वाधार तथा आवद्ध जनसंख्या
  • स्वच्छ ऊर्जाको उत्पादन र उपभोगको अनुपात
  • डिजिटल नेपाल

सुखी नेपालीको आधार के?

छवटा विषयमा गरी २४ सूचकमा सुखी नेपालीका आधार देखाइएको छ। सुखी नेपालीका २४ सूचकमा उच्‍च नागरिक सन्तुष्टिदेखि सुविधासम्पन्न सुरक्षित आवास, आवश्यक सेवा र वस्‍तुमा आत्‍मनिर्भरतासम्मका विषयलाई सूचकको रूपमा समेटिएको छ।   

समुन्‍नत तथा मर्यादित जीवन

  • नागरिक स्वास्थ्य
  • सुविधासम्पन्न तथा सुरक्षित आवस
  • गतिशील र सामाजिक जीवन
  • भूमि र आधुनिक भौतिक सम्पत्तिमाथिको समान पहुँच र स्थायित्व
  • उच्च नागरिकको सन्तुष्टि

सभ्य र न्यापूर्ण समाज

  • विभेद , हिंसा र अपराधमुक्त समाज
  • सामाजिक सुरक्षा
  • सामाजिक, सांस्कृतिक विविधता प्रवर्द्धन तथा संरक्षण

स्वास्थ्य र सन्तुलित पर्यावरणीय पद्धति

  • प्रदूषणयुक्त र स्वच्छ वातावरण
  • जैविक विविधता संरक्षण र पर्यावरणीय सन्तुलन
  • जलवायु परिवर्तनको अनुकूलनशीलता
  • प्राकृतिक विपद् र उत्पादनशील समाज र अर्थतन्त्र

सुशासन

  • कानुनी शासन
  • उच्च सदाचार
  • सबल, सक्षम, जवाफदेही सार्वजनिक सेवा
  • सदृढ संघीय शासन प्रणाली

सबल लोकतन्त्र

  • शान्ति र स्थिरता
  • स्वच्छ, स्वतन्त्र र कम खर्चिलो निर्वाचन
  • मौलिक हकको प्रत्याभूति
  • नागरिक सहभागिता

राष्ट्रिय एकता र सम्मान

  • नेपालीको उच्‍च भावना
  • उच्च सामाजिक सद्‍भाव
  • उच्च मानव तथा अन्य सुरक्षा
  • आवश्‍यक वस्तु र सेवामा आत्मनिर्भरता

कसरी पूरा गर्ने लक्ष्य, के हुन् संवाहक?

आयोगले नौवटा सहयोगी क्षेत्र र छवटा विषयलाई रूपान्तरणको संवाहकका रूपमा लिएको छ। प्राकृतिक सम्पन्नता, अवस्थिति, जनसांख्यिक लाभ, सांस्कृतिक सम्पन्नता र नेपाली पहिचानलाई सहयोगी क्षेत्रका रूपमा लिएको छ। त्यस्तै, सामाजिक पुँजी, ऊर्जा, भौतिक पूर्वाधार विस्तार, संघीयता र वित्त स्रोतको दायरालाई सहयोगी क्षेत्रको रूपमा लिएको छ।

संवाहकको रूपमा भने प्रादेशिक र स्थानीय अर्थतन्त्र, व्यवस्थित तथा आधुनिक शहरीकरण, गुणस्तरीय पर्यटन सेवा, उच्च उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमतालाई लिइएको छ। त्यस्तै, गुणस्तरीय पुँजीकरण निर्माण र पूर्ण उपयोग, जलविद्युत उत्पादन तथा हरित अर्थतन्त्र पनि संवाहकका आधारका रूपमा लिइएको छ।

समृद्धिका नारा

तीन चरण तय गरी बनाइएको योजनामा पहिलो चरणमा योजना र कार्यान्वयनको चरण र दोस्रो चरणमा काममा तीब्रता र तेस्रो चरणमा दिगोपनालाई प्राथमिकता दिएको छ। यसअनुसार पहिलो चरणको नारा 'समृद्ध र सुखको सिर्जना' रहेको छ। दोस्रो चरणमा 'समृद्ध र सुखको तीब्रता' नारा दिइएको छ भने तेस्रो चरणको नारा 'समृद्ध र सुखको दिगोपन' दिइएको छ।

के हुन् योजना तर्जुमाको आधार?

राष्ट्रिय योजना आयोगले यो प्रारम्भिक मस्यौदा तयार गरेको हो। 'यो प्रारम्भिक मस्यौदा मात्रै हो, धेरै छलफल गर्न बाँकी छ तर यही लक्ष्यका साथ हामी अघि बढेका छौँ', राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले भने।

आयोगले तयार परेका मस्यौदामा योजना तर्जुमाको आधार भने अहिलेसम्मको सिकाइ र सरकारले गरेका प्रतिवद्धता र संवैधानिक व्यवस्थालाई लिइएको छ।

छ दशक लामो योजनाबद्ध विकासबाट सिकाइ, संवैधानिक व्यवस्था, समुन्नत राष्ट्रमा पुर्‍याउने प्रतिवद्धता विकास उन्मुख र दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धतालाई आधार मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.