काठमाडौं: 'नेपालमा सिरियस श्रोताहरू पनि छन्, जो गीतलाई विशुद्ध मनोरञ्जनको साधन मात्र नसोचेर गीतमा समावेश शब्दको गहिराइ, गीतले उठाउन खोजेको विषयवस्तु, गीतले देखाउन खोजेको सामाजिक चित्रलाई मापन गर्ने क्षमता राख्छन्। नारायणगोपाल, गोपाल योञ्जनहरूले अभ्यस्त बनाएको श्रोताहरूको ठूलो भीड हामीकहाँ छन्। उनीहरूबाट सर्दैसर्दै आएको एक पुस्ता अझै हामीकहाँ जीवित छ। रहिरहनेछ। यद्यपि, यस्ता श्रोताहरूले हल्ला कम गर्छन्। हो, यही पुस्ताले सुन रे सियाराम सबैभन्दा धेरै मनपराइदियो', केही दिनअघि भेटिएका कवि तथा गीतकार श्रवण मुकारुङले आफूले लेखेको गीत 'सुन रे सियाराम'बारे यसरी बताए।
नेपालमा लामो समयदेखि चल्दै आएको कम्लहरी, कमैया प्रथा थियो- कुप्रथाका रूपमा रहेको। अहिले पनि मै हुँ भन्ने मानवअधिकारवादीदेखि लिएर राजनीतिक दलका नेतासम्मका घरमा काम गर्नेहरूको जमात ठूलो छ। कम्लहरी प्रथा वर्षौंदेखि समाजमा चल्दै आएको समस्या हो। यो प्रथाले पीडित हुनेको संख्या पनि ठूलो नै रहेको छ। उनीहरूमाथि माथिल्लो वर्गले सधैँ आफ्नो हक जमाइरहेको छ। चेतनाको अभावले कम्लहरीहरूले आफ्नो आवाज बाहिर ल्याउन सकिरहेका छैनन्। पीडितहरूको आवाज यसै पनि कमजोर र सुस्त छ। उनीहरूको आवाज सुनिदिने कोही छैनन्। उनीहरूको आवाजलाई कसले सुनिदिने? 'तिनको आवाज सुन्ने भनेको लेखकले हो। पत्रकारहरूले हो। सामाजिक अभियन्ताले हो', उनले भने, 'एउटा गीतकार र कवि भएको हैसियतले उनीहरूको कारुणिक पीडालाई लेख्नुपर्छ भन्ने अभिप्रायले यो गीत लेखेको हुँ।' यो विषयमा धेरै पहिलेदेखि लेख्छु भन्ने लागेको भए पनि लेख्न सकिरहेका थिएनन् उनले।
उनको लेखनमा सिमान्तकृत,आवाजविहिनहरूको जिजिविषाको गन्ध भेट्याइने गरेको छ। यो सिलसिलाको निरन्तरतालाई आफूले यो गीतमा पनि समावेश गरेको उनी सुनाउँछन्।
यो लेख्नुको मुख्य उद्देश्य कम्लहरी प्रथाको दुखान्त अभिव्यक्ति नै भएको उनको भनाइ छ। नेपालय प्रकाशनले लामो समयदेखि पलेटी नामक सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ। त्यो कार्यक्रममा लेखक, कवि, कलाकारहरूको उपस्थिति हुने गर्छ। उनीहरूका नयाँ तथा पुराना स्तरीय गीतहरू सुन्ने/सुनाउने गर्ने गरिन्छ उक्त कार्यक्रममा। एक दिन मुकारुङलाई पनि पलेटीमा उभ्याउने निर्णय उक्त संस्थाले गर्यो।
त्यसका लागि मुकारुङले यो गीत लेख्नुपर्ने भयो। दिमागभरी धेरै दिनदेखि घुमिरहेको यो विषयलाई उनले लेखे गीतमा। आभासले यो गीतमा संगीत भरेका छन्। यो उनी र संगीतकार आभासको पलेटी कन्सर्टमा लाइभ रेकर्डिङ भएको गीत हो। यसमा स्वर भने मीना पोख्रेल निरौलाले दिएकी छन्।
यो गीत पहिलोचोटि त्यहाँ बजेको उनले बताए। यो गीतले निकै ठूलो चर्चा पनि पाउन सफल भयो। आफूले यो गीतबाट ठूलो अपेक्षा नगरेको उनले बताए। उनी भन्छन्, 'म कुनै नाफामुखी संस्था होइन, जसले आफूले सिर्जना गरेका हरेक वस्तु बजारमा पुगेर चर्चित होस् भन्ने चाहन्छ। एउटा लेखकले समाजको विसंगतिको दृश्य राज्यसामु देखाउन चाहन्छ। मैले देखाउन मात्र खोजेको हुँ।'
यो गीत उनले वि.सं. २०७० मा लेखेका हुन्। यो गीत आएपश्चात् उनीलगायत कवि स्वप्निल स्मृति दाङको एक कार्यक्रममा गएका थिए। त्यसबेला त्यहाँ भेटिएका हरेक महिला र पुरुषले यो गीत सुन्दा भावुक बनेको र मुकारुङलाई आफ्ना पीडाहरू जीवन्त रूपमा बाहिर ल्याइदिएको भन्दै धन्यवाद दिएको सम्झना गरे।
सुन्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।