|

उदयपुर : उदयपुरको बेलका नगरपालिका ४ वडा कार्यालयको भवन निर्माणको लागि स्थानीय डम्बरबहादुर तामाङले ३० लाख मूल्य पर्ने जग्गा निशुल्क उपलब्ध गरेका छन्। तामाङले बुधबार मालपोत कार्यालय उदयपुरमा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास जग्गा निशुल्क उपलब्ध गराएका हुन्।

रापाठो ७ ग को ४२१ कित्ता नम्बरबाट एक कट्ठा जग्गा पास गरेर वडाध्यक्ष दीपक दंगाललाई हस्तान्तरण गरेका हुन्। तामाङले भने, ‘भाडाको घरमा वडा कार्यालय संचालन भइरहेकाले वडा भवन निर्माणको लागि निःशुल्क जग्गा दान गरेको हुँ।’ वडाका स्थानीय जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यका साथ आफूले जग्गा दान गरेको तामाङको भनाइ छ। 

७६ वर्षीय तामाङले यस अघि पनि स्थानीय गुरुङचोरी विद्यालयको चार कोठे भवन निर्माण गर्नका लागि सहयोग पुर्‍याएका थिए। विगतमा पनि सामाजिक योग्दान दिँदै आएका र स्थानीय वडावासीलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पारिवारिक सहमतिमा निशुल्क जग्गा दिइएको छोरा मनोज तामाङले बताए। मनोज सोही वडामा स्थानीय तहको निर्वाचनमा तत्कालीन एनेकपा माओवादीबाट वडा ४ का वडाध्यक्षका उम्मेदवार समेत हुन्। निर्वाचनमा मनोज झिनो मतले पराजित भएका थिए।

वेलका नगर सरकार नेपाल कै कान्छो नगरपालिका भएकाले भौतिक पूर्वाधार विकास गर्नका लागि जग्गा प्राप्त भएको प्रति वडाध्यक्ष दंगालले खुसी व्यक्त गरेका छन्। ‘दंगालले यसरी जग्गा पाउनु भनेको नगर सरकारको लागि चुनौती छ,’ उनले भने, ‘वडावासीलाई सहज तरिकाले सेवा पाउनु भन्ने उद्देश्यले यसरी जग्गादान गरिएको छ। वडावासीकै चाहना बमोजिम सेवा गर्ने छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.