|

काठमाडौं : रहरले जन्मिएको लक्ष्य। लक्ष्यलाई भेटाउन चालिएको कदम। तिनै कदमले बनाएका रोचक कथाहरू निर्देशक तथा पत्रकार सुव्रतराज आचार्यसँग छन्। फिल्म नगरीमा जागेको रुचिलाई पूरा गर्न अपनाएको उनको बाटो पनि कम रोचक छैन।

बाल्यकालमा फिल्म हेर्दा उनलाई फिल्मको 'हिरो' बन्ने सोच थियो। हिरो बन्नकै लागि उनले अभिनय र नृत्य पनि सिकेका छन्। उनका समकालीन साथीहरू हिरो भइसकेका कारण पनि उनमा त्यो रहर बढ्दै गएको थियो। उनी भन्छन्, 'मेरा साथीहरू दिलीप, रमेश, सुशील फिल्मको हिरो भइसकेका थिए। त्यही भएर पनि मलाई पर्दामा देखिने रहर बढ्दै गएको थियो।'

कलेज पढ्दै गर्दा उनले केही नाटकमा सानोसानो भूमिका निर्वाह गरिसकेका थिए भने केही फिल्ममा सहायक निर्देशक बनेरसमेत काम गरिसकेका थिए। उनी भन्छन्, 'म पत्रकारिता पढ्नुपूर्व नै फिल्ममा हल्का फुल्का काम गर्न थालिसकेको थिएँ।'

पछि उनले पत्रकारिता पढ्ने छनोट गरे। त्यसमा फिल्म पनि पढ्नुपर्थ्यो। उनको रुचि फिल्ममा झनै बढ्दै गयो। 

सुव्रत २०५३ सालदेखि पत्रकारितामा लागे। उनी भन्छन्, 'मेरो रुचि भनेको फिल्म नै थियो तर त्यो रहर भेट्नका लागि पत्रकारिताले मलाई सर्भाइभ गरिरहेको थियो।' पत्रकारिता गर्दा पनि उनले राम्रो राम्रो मिडियामा काम गर्ने अवसर पाएकामा खुसी व्यक्त गर्छन्।

फिल्म पत्रकारिता गरिरहेका सुव्रतलाई फिल्म बुझ्न भने धेरै समय लागेन। उनी फिल्मकर्मीसँग सजिलै पुग्न सक्थे। सुटिङ, सम्पादन जस्ता हरेक कुरालाई सहजै नियाल्ने मौका पाउँथे। 'फिल्म पत्रकार भएका कारण म फिल्म सम्पादन भइरहेको ठाउँमा सजिलै छिरेर कसरी काम भइरहेको छ हेर्न पाउँथेँ', उनी भन्छन्, 'यसले मलाई फिल्मलाई नजिकबाट बुझ्न सहज भइरहेको थियो।'

सुरुवाती दिनमा आएको 'हिरो' बन्ने सोच सुव्रतबाट बिस्तारै हट्यो। उनले फिल्मको सम्पूर्ण कुरालाई नजिकबाट नियाल्दा फिल्मको मूख्य व्यक्ति निर्देशक भन्ने बुझे। उनको सोच पनि निर्देशक बन्नेतिर मोडियो। उनी सम्झिन्छन्, 'पछि थाहा पाएँ कि फिल्मको मुख्य व्यक्ति त निर्देशक रहेछ। निर्देशकले त सबै कुराहरू जानेको हुनेरहेछ भनेर मेरो सोच पनि मेकिङका बढी गयो।'

पत्रकारिता सुरु गरेको दुई वर्षपछि सुव्रत म्युजिक भिडियो निर्देशनमा लागे। त्यसबेला म्युजिक भिडियो बनाउन पनि गाह्रो थियो। उनी भन्छन्, 'म तीनदेखि पाँच महिना लगाएर एउटा म्युजिक भिडियो निर्माण गर्थे तर निरन्तरता भने दिइरहेको थिएँ।'

सुव्रतले पत्रकारिता र म्युजिक भिडियो निर्देशनलाई सँगसँगै लगिरहेका थिए तर उनको लक्ष्य म्युजिक भिडियो मात्र थिएन। उनलाई फिल्मको निर्देशक बन्नु थियो। उनी भन्छन्, 'फिल्म निर्देशनकै लागि मैले म्युजिक भिडियोबाट आफ्नो गोरेटो कोरिरहेको थिएँ।'

लगभग १०० म्युजिक भिडियो निर्देशन गरेपछि बल्ल उनलाई फिल्म निर्देशनको अवसर जुर्‍यो। उनी भन्छन्, 'भनिहालेँ, सुरुदेखि नै मेरो रहर भनेको फिल्म मेकिङ नै थियो। एक सय बढी म्युजिक भिडियो बनाएपछि बल्ल अर्धकट्टी नामक फिल्म बनाउने मौका मिलेको थियो।'

'अर्धकट्टी'बाट सुव्रतले सफलता पाउन सकेनन्। उनी भन्छन्, 'व्यापारिक रूपमा फिल्म हिट भएन तर जतिले फिल्म हेर्नुभयो, उहाँहरूले राम्रो भनिदिनुभएको थियो। त्यही मेरो सफता हो जस्तो लाग्छ।'

सुव्रतले अहिले दोस्रो फिल्म पनि निर्देशन गरिसकेका छन्। उनको निर्देशनमा 'सुश्री सम्पत्ति' तयार भएको छ। सुव्रत निर्देशित यो फिल्म मंसिर २८ मा रिलिज हुँदै छ। यस फिल्मलाई लिएर सुव्रत निकै आशावादी छन्। उनी भन्छन्, 'पहिलो फिल्मबाट मैले धेरै कुराहरू सिक्न पाएको छु। यस फिल्मका लागि हामीले धेरै मिहिनेत पनि गरेका छौँ।' फिल्मको गीत र ट्रेलरले पाएको प्रतिक्रिया हेरेर पनि उनी निकै उत्साहित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.