|

काठमाडौं : सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे। गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए। कारण थियो– उनको झोलामा भेटिएको मेटासिट। प्रहरीले उनका साथबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ।

कान्तिपुर दैनिकमा समाचार छ, सरकारले घाइतेको उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकाले विरोधस्वरूप विष सेवन गर्न लागेको उनले बताए।गत मंसिर ५ गते उनले गृह मन्त्रालयमा गृहमन्त्रीकै सामुन्ने विष सेवन गरेका थिए। तत्काल अस्पताल पुर्‍याइयो। चार दिन उपचारपछि महाराजगञ्जस्थित प्रहरी अस्पतालबाट डिस्चार्ज गरियो। त्यसपछि उनी रत्नपार्कको शान्तिवाटिकामा अनशन बसे। प्रहरीले उनलाई पक्रेर एक रात राखेको थियो। उनी भोलिपल्टै सशस्त्र द्वन्द्वका अन्य घाइतेसहित गृह मन्त्रालय पुगे।

गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीको उपस्थितिमा लिखित सम्झौता गरे। ‘सरकारले जनयुद्धका मजस्ता घाइतेको पीडा सुन्दैन भने बाँचेर के अर्थ! सरकारले झूटो आश्वासन दियो, त्यही भएर मर्न खोजेको हुँ,’ उनले भने।

गृहमन्त्रीका सल्लाहकार सुवेदीले घाइतेको उपचार र जीविकोपार्जनका विषयमा लिखित सम्झौता गरिएको स्विकारे। ‘उक्त सम्झौता कार्यान्वयनका लागि मन्त्रिपरिषद् प्रस्ताव लैजाने तयारी छ,’ उनले भने। बिहीबारको घटनाबारे भने उनले अनभिज्ञता दर्शाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.