|

कपिलवस्तु : अवैध रुपमा खोलाहरूबाट नदीजन्य वस्तुहरूको निकासी रोकिन सकेको छैन। नदी तथा खोलाबाट स्थानीय तहको समन्वयमा उत्खनन् तथा निकासी गर्ने नीति भए पनि अनियमितता व्यापक देखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार प्रायः दैनिक अबैध रुपमा खोलाहरूबाट नदीजन्य वस्तुहरूसहित गाडी पक्राउ परेका छन्।

रातको समयमा जिल्लाका विभिन्न खोलानालाहरूबाट गाडी मालिककै संलग्नतामा चोरी निकासी बढेको स्थानीयको गुनासो आएको छ। कपिलवस्तु प्रहरीले अवैध रुपमा चोरी निकासीमा संलग्न २ वटा ट्रकसहित ६८ वटा ट्याक्टरलाई पक्राउ गरेको छ। कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार चालु आर्थिक वर्षको हालसम्म ६८ वटा ट्याक्टर र दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समाज अहिले पनि अराजक ढंगबाट अघि बढ्न खोजेको भन्दै उनले अव स्थानीय सरकारले कडा चासो र निगरानी गर्नुपर्ने बताए। जिल्ला समन्वय समितिले अबैध रुपमा ढुंगाजन्य वस्तुहरूको उत्खनन् तथा निकासी गर्ने ट्याक्टरलाई प्रति ट्याक्टर २५ हजार जरिवाना तोकेको छ। जिल्ला समन्वय समितिले जेठ मसान्त यता नदीजन्य पदार्थको ठेक्का बन्द गरेसँगै जिल्लाका विभिन्न खोला नालाबाट बालुवा, गिट्टी, मिस्कट र ढुंगा चोर्ने क्रम बढेको हो।

अबैध चोरी निकासीमा सबैभन्दा बढी ट्याक्टर प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। विषेश गरी वाणगंगा, रामघाट, भलवाडको धिरी, सुरई र चिरई नदीहरूबाट नदीजन्य पदार्थको चोरी बढेको छ। सबैभन्दा बढी बाणगंगा नाकाबाट चोरीनिका सीमा संलग्न २८ ट्याक्टर नियन्त्रणमा लिएको छ। चोरी निकासीमा स्वयं ट्याक्टरधनी पनि संलग्न हुने गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाले सुरई नदीबाट ढुंगा चोरी गर्दै गरेका १ वटा ट्रकसहित ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयले २४ वटा ट्याक्टर नियन्त्रण लिई जिल्ला समन्वय समितिको जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता रावलले बताए। इलाका प्रहरी कार्यालय गोरुसिंगेले समेत एकवटा ट्रकसहति ५ वटा ट्याक्टर पक्राउ गरेको छ। गणेशपुर प्रहरीले समेत अवैध नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा संलग्न ८ ट्याक्टर पक्राउ गरेको जनाइएको छ।

चोरी निकासी रातको समयमा बढि हुने गरेको स्थानीयले बताएका छन्। बाणगंगा नदीमा रातको समयमा नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा लु ३ त ६१११, लु ३ त २६४१, लु ३ त २६३७ नम्बरका ट्याक्टरसँगै सवारी मालिक पनि पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ परेका सवारी साधनबाट १० लाख ९५ हजार राजस्व असुल भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.