|

कालिकोट : कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। यो कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ। 

समुद्र सतहबाट ४२१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसावले मात्रै नभई धार्मिकहिसाबले पनि महत्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन्। त्रिवेणी पाटन घुम्नलाई बैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ। नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला लाग्ने गर्छ। मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।

‘त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन्।’ उनले भने,‘यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालिकोट क्षेत्रमा पर्ने र २० वटा बाजुरा क्षेत्रमा पर्दछन्।’ यस पाटनको आकर्षण भनेको जंगली जनवार पनि हुन्। कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यो क्षेत्रमा पाइने रामारोसन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले बताए। ‘जडिबुटीका लागिसमेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ।’ उनले भने,‘यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ।’

पर्यटन प्रबर्द्धनका लागि योजना बनाउँदै जनप्रतिनिधि

त्रिवेणी पाटन क्षेत्रको विकासका लागि कालिकोट अछाम र बाजुरा जिल्लाका जनप्रतिनिधिले पर्यटन प्रवर्द्धनका लागि योजना ल्याउन लागेका छन्। त्रिवेणी क्षेत्रकाको संरक्षणका लागि पर्यटन प्रबर्द्धन योजना ल्याएर त्यसको बृहत्तर विकास गर्न लागेको हुन्। पर्यटन, जडिबुटी दुर्लभ जनवारको बासस्थान समेत रहेको त्रिवेणी पाटनको संरक्षणका लागि कालिकोट, अछाम र बाजुराका जनप्रतिनिधिबीच दुई पटक छलफल समेत चलेको त्रिवेणी पाटन र बडिमालिका पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना समेत बनाउने तयारी थालिएको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए। ‘बडिमालिका र त्रिवेणी पाटनको पर्यटन गुरुयोजना बनाउने तयारी साथ दुई पटक बैठक समेत बसेका छौं।’ उनले भने,‘त्यसका लागि हामी सबैले तयारी पनि थालेका छौं।’

संरक्षित क्षेत्र बनाइने

त्रिवेणी पाटन, बडिमालिका र रामारोसन ताल क्षेत्र आसपासका क्षेत्रलाई समेटर संरक्षित क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारहरूले तयारी थालेका छन्। त्रिवेणी पाटन, रामारोसन र बडिमालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन सक्ने त्यसका लागि पहिलो चरणमा त्यस क्षेत्रमा चरिचरन, जडिबुटी निकासी बन्द गर्न लागिएको अछाम रामारोसन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले बताए।

‘हामी त्रिवेणी पाटन, रामारोसन ताल र बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गर्न लागेका छौं।’ उनले भने,‘त्यसका लागि कालिकोट, बाजुरा र अछामका स्थानीय सरकारले त्यस क्षेत्रमा चरिचरन, जडिबुटी निकासी र शिकार खेल्न बन्देज लगाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.